एमसीसीविरुद्ध आन्दोलन : प्रहरी जोगाउने श्रेष्ठको पसललाई क्षतिपूर्ति दिइने



काठमाडौं ।

अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा भएको आन्दोलनको क्रममा तोडफोडमा परेको एक पसललाई क्षतिपूर्ति दिइने भएको छ । बानेश्वर, बुद्धनगरमा रहेको जानकी श्रेष्ठको बुटिक पसललाई क्षतिपूर्ति दिन गृह मन्त्रालयमा सिफारिस गरिने भएको हो ।

यही फागुन ८ गते एमसीसी संसदमा टेबल हुँदा प्रदर्शनकारीले लखेटेपछि ६ जना प्रहरी श्रेष्ठको उक्त बुटिक पसलभित्र छिरेका थिए । प्रहरी पसलमा छिरेपछि आन्दोलनकारीले पसलनै तोडफोड गरेका थिए ।

उक्त क्षतिग्रस्त पसलमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीसहितको टोलीले अनुगमन गरेका छन् ।

अनुगमन गरेको उक्त टोलीले तोडफोड भएको पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्