टी-२० विश्वकपमा पुग्न नेपाल असफल



न्युज अफ नेपाल, काठमाडौं ।

टी–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ । टी २० विश्वकप छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको हो।

ओमानमा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको हो ।  हारसँगै अब नेपालले अस्ट्रेलियामा हुन लागेको टी २० विश्वकप खेल्न नपाउने भएको छ ।

समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपालले युएईले दिएको १७६ रनको लक्ष्य हासिल गर्न सकेन। नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०७ रन मात्रै जोड्न सकेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । उनले ३८ बलमा तीन चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले दोस्रो इनिङको चौथो बलमै ओपनर आसिफ शेखलाई पहिलो विकेटको रूपमा गुमाएको थियो । त्यसको अर्को बलमा नेपालले दोस्रो विकेटको रूपमा लोके बललाई गुमायो । लोके ‘गोल्डेन डक आउट’ भए । स्कोरबोर्डमा १४ रन हुँदा नेपालले तेस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो ।

नेपाललाई सस्तोमै समेट्न युएईका अहमेद राजाले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका राजाले मात्र १९ रन खर्चिए । यसबाहेक, जुनैद सिद्धिकले तीन विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रनको योगफल खडा गरेको थियो । युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जवर फरिदले ११ रन जोडे ।

नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले तीन ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

जितसँगै यूएईले भने टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। तर ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल भने असफल भएको हो । नेपालले हालसम्म एक पटक मात्र ट्वान्टी २० विश्वकप खेलेको छ । सन् २०१४ मा भएको ट्वान्टी २० विश्वकपमा नेपाल छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्