जनप्रतिनिधिकै मिलेमतोमा दरै परिवारको जग्गा कब्जा !



धादिङ ।

स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्णबहादुर दरै र उनको दुई भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा खाइदिएको खुलेको हो ।

सल्यानटार ३/झ अन्तर्गत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा कृष्णबहादुरका ठूलोबाबुको छोरो मनबहादुर दरैले नक्कली कागज बनाएर जग्गा खाएपछि दरै परिवार विचल्लीमा परेका छन् । मजदुरी गर्दै जीवन धानीरहेका कृष्णबहादुर परिवार गाउँ आउँदा आफ्नो जग्गा अरूले खाएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा आइतबार उजुरी दिनुभएको छ ।

मनबहादुरले कृष्णबहादुरसमेत २०४६ जेठ २६ गतेदेखि हराइरहेको र आफू नजिकैको हकदार भनेर कीर्ते कागज बनाई बूढीगण्डकी जलविद्युत्को मुआब्जासमेत खाएको कृष्णबहादुरले दिएको उजुरीमा उल्लेख छ । २०४६ मा बेपत्ता भएको भनिएका कृष्णबहादुरले २०५४ साउन १२ गते जिल्ला प्रशासन कारर्यालय धादिङबाट नागरिकता बनाएको देखिन्छ ।

अर्काे कीर्ते कुरासमेत २०७६ सालमा बनाइएको कागजहरु जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । २०७६ मा बनाइएको कागजमा कृष्णबहादुर हराएको बेलामा नजन्मिएका सपना दरै र भर्खर जन्मिएका सूर्यबहादुर दरै साक्षी बसेको देखाइएको छ । तत्कालीन वडा सचिव नारायण थपलियाले तयार पारेको सर्जमिन मुचुल्कामा कार्यवाहक वडाध्यक्ष बनाइएका रामहरि गिरीले रोहवरमा हस्ताक्षर गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भोजबहादुर रिजालले कृष्णबहादुर दरैसमेत बेपत्ता भएकाले कृष्णबहादुरको आमाको नाममा रहेको जग्गा र सम्पत्ति मनहादुरको नाममा नामसारी गरिदिन गाउँपालिका कार्यालय र मालपोत कार्यालयलाई सिफारिस गर्नुभएको थियो ।

जिल्ला मालपोत कार्यालयले कानुनविपरीत बेपत्ता भएका व्यक्तिको खोजी नगरी थप कीर्ते कागज बनाएर जग्गा नामसारी गरिदिएको देखिन्छ । कोही मानिस बेपत्ता भयो भने देवानी संहिता २०७४ को दफा ४० बमोजिम जिल्ला अदालतले बेपत्ता घोषणा भएको प्रमाणित गर्नुपर्ने हुन्छ । मालपोत कार्यालयले आफैंले टिप्पणी उठाएर नामसारी गरेको देखिन्छ । जिल्ला मालपोत कार्यालयमा तत्कालीन अवस्थामा मालपोत अद्धृतका रूपमा कार्यरत पुरषोत्तम भण्डारी धादिङबाट सरुवा भइसक्नुभएकाले टेलिफोनबाट सम्पर्क गर्न सकिएन ।

आफ्नो नाममा जग्गा आएपछि मनबहादुरले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट ६३ लाख ७५ हजार ५ सय ३९ रुपियाँ मुआब्जासमेत लिएको देखिएको छ । कृष्णबहादुर दरै बेपत्ताको सम्बन्धमा वडाध्यक्ष भोजबहादुर रिजालले गाउँलेको मुचुल्का र मनबहादुरको निवेदनको आधारमा मालपोत कार्यालयलाई सिफारिस गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्