राप्रपा नेपालको पहिलो बैठक

निर्वाचन परिचालन र निर्वाचन घोषणापत्र समिति गठन



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको पहिलो बैठकले सुशील कुमार श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले गठन गरेको समितिका सदस्यहरूमा तेजकुमार कुरुम्बाङ, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम, इर्साद आलम, ईश्वर श्रेष्ठ, ललित जोशी, सुशीला गिरी, शिवकुमार बाँस्तोला, श्यामबहादुर खत्री, सुजन अधिकारी, दिनेशचन्द्र गुप्ता, चेतनाथ थापा, राजु नापित, दूर्योधन निरौला र सदस्य सचिवमा उज्वल पोखरेल रहेका छन् ।

त्यसै गरी बैठकले सुरेश आचार्यको संयोजकत्वमा सात सदस्यीय स्थानीय निकाय निर्वाचन घोषणापत्र तयारी समिति पनि गठन गरेको छ । उक्त समितिका सदस्यहरूमा माधव खत्री, ममता राई, होमभक्त कुुरुम्बाङ, रमेश राज पन्त, शशिरञ्जन यादव र रामचन्द्र बाँनिया रहेका छन् ।

बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जनसहित पारित गर्दै सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित ‘संवर्धनवाद’ पार्टीको वैचारिक दर्शन हुने जनाएको छ ।

बैठकले गत १५ वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता बिना शर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरूप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग गरेको छ । बैठकले राष्ट्रको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्याएको योगदानको उच्च मूल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रित हुने तथा लोकतान्त्रिक हिन्दुराष्ट्र मुख्य कार्यनीति हुने निर्णय गरेको छ । साथै बैठकले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशाको रूपमा निर्धारण गरेको छ ।

राप्रपा नेपालको पहिलो बैठकले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको भत्र्सना गर्दै सर्वसाधारण जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्