वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा कम राजश्व संकलन



वीरगन्ज (नेस) ।

देशको मुख्य आर्थिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को माघमा महनिामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो । माघमा वीरगन्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

विभागले वीरगन्ज भन्सार कार्यालयलाई १६ अर्ब ४९ करोड ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले माघमा सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट ६ अर्ब ५० करोड ४७ लाख ४४ हजार राजस्व संकलन गरेको छ ।

आयात भएको सामानहरूको भन्सार महसुलबाट ५ अर्ब ८१ करोड ४५ लाख ९७ हजार रूपियाँ संकलन गरिएको छ । त्यस्तै पूर्वाधार करबाट एक अर्ब २९ करोड ८८ लाख, अन्तःशुल्कबाट एक अर्ब ४० करोड ६६ लाख ७१ हजार, सडक मर्मत तथा सुधार दस्तुरबाट ३१ करोड १५ लाख २० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्ष पनि विभागबाट पाएको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तेस्रो लहरको कोरोनाका कारण भन्सारको लक्ष्य माघ महिनामा प्रभावित भएको भन्सारका कर्मचारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्