मन्त्रीको निर्देशनपछि क्यासिनोले बुझाए रोयल्टी



काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नुका साथै अन्यको पनि खारेजी हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले ५ करोडमध्ये चार करोड बक्यौता बुझाएसँगै हालसम्म सरकारको खातामा ७६ करोड ४५ लाख राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने मन्त्रीको आदेशपछि, अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्दैछन् करोडौं रकम जम्मा भएको छ ।

उहाँका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नु पर्ने जम्मा रकम एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ । यसै गरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौसम्म पनि नतिर्ने काठमाडौंको दरबारमार्गमा रहेको होटेल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न शुरू गरेको विभागको दाबी छ ।

मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ । अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।

जसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड बाँकी रहेको र उक्त होटेलको बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिनुभयो ।

यसै गरी सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एन्ड यति (क्यासिनो रोयल), रक इन्टरनेसनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रूपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्