कुरूप काठमाडौं



पछिल्लो समय विज्ञापन गर्न राखिएको होडिङ बोर्डले राजधानी कुरुप बनाइदिएको छ । योसँगै, केबल, इन्टरनेट र टिभीको तार पनि जथाभावी हुँदा उपत्यका अस्तव्यस्त देखिन्छ । जथाभावी रुपमा बाँधिएका तारहरुको कारण उपत्यकावासी त्रासमा हिँड्नुपर्ने अवस्था छ । भाँच्चिसकेको खम्बामा समेत तार झुन्ड्याइएको छ ।

खम्बा कतिखेर भाँच्चिएर कसमाथि खस्ने हो, यो निक्र्योल गर्दै हिँड्नुपर्छ । यता, होडिङ बोर्ड पनि उत्तिकै जोखिमपूर्ण छ । एउटा घरमा कतिवटा पसल, अफिस सञ्चालित छन् त्यति नै होडिङ बोर्ड राखिएको हुन्छ । पछिल्लो समय एउटै घरमा १५ वटासम्म होडिङ बोर्ड राखिएको देख्न सकिन्छ । होटल, निजी अफिस, पसलजस्ता जुनसुकै व्यापार गर्दा सबैभन्दा पहिले वडामा जानकारी गराउनुपर्ने नियम छ । त्यसै गरी, सो व्यापारिक संस्था वडामा दर्ता भएको हुनुपर्छ भने वडाको नियमकानुन सबै मानेको हुनुपर्दछ । वडाको स्वीकृतिविना कसैले पनि होडिङ बोर्ड राख्न पाउँदैन ।

उक्त बोर्डको सीमा पनि वडाले निर्धारण गर्दछ । वडाले तोकेको भन्दा ठूलो वा सानो बोर्ड राखेको खण्डमा कारबाही गर्ने भनिएको छ । बोर्डको फिट र व्यापारको उद्देश्यको आधारमा वडाले राजस्व लिन्छ । बोर्ड वर्षैपिच्छे नवीकरण पनि गर्नुपर्छ । तर, अहिले प्राइभेट अफिस खोल्न, बिजनेस व्यापार गर्नेहरुले वडामा दर्ता नै नगरीकन आफूखुशी बोर्ड राखेका छन् ।
वडालाई कुनै खबर नै नदिई, केही सम्झौता नै नगरी उनीहरुले बोर्ड राखेको पाइन्छ । वडामा दर्ता गरेर बोर्ड राखेको व्यापार व्यवसायीले पनि नवीकरण गराएका छैनन् । राज्य अहिले पनि राजस्वविहीन छ । एकातिर राज्यले राजस्व पाएको छैन, अर्कोतिर जोखिमपूर्ण रुपमा बोर्ड झुन्ड्याइएको छ ।

व्यवस्थित रुपमा बोर्ड टाँगिएको कमै मात्र भेटिन्छ । कतिपयले किला ठोकेर झुन्ड्याएका छन् भने कतिपयले डोरीले बाँधेको भेटिन्छ । हावाहुरी लाग्दा ती बोर्ड अति नै खतरापूर्ण हुन्छन् भने सामान्य बेलामा पनि उक्त बोर्ड कतिखेर खसेर मान्छेको टाउकोमा लाग्ने हो, अत्तोपत्तो छैन । वडा र महानगरपालिकाले यस विषयमा खासै चासो देखाएको छ जस्तो लाग्दैन । यी निकायहरु अनुगमनमा निस्किएको कहिल्यै पनि देखिँदैन । अनुगमन नहुँदा राजस्व तिरेको छ कि छैन भन्नेबारे केही थाहा हुँदैन । जोखिमपूर्ण तवरले बोर्ड झुन्ड्याउँदा हुने खतराबारे ज्ञान हुँदाहुँदै पनि वडा र महानगर मौन छ ।

अव्यवस्थित रुपमा होर्डिङ बोर्ड राख्ने अनुमति दिँदा राजधानीको सौन्दर्यतामाथि ह्रास आएको छ । कतिपय घरधनीले आफैँले राखेको पसलको दर्तासमेत गराएका छैनन् । मेरो घर म जेसुकै गरुँ भन्ने उनीहरुको मान्यता छ । तर, यसको असर त राजस्वमा परेको छ । व्यापार गर्नेले गरिरहेका छन्, कमाइरहेका छन् । तथापि, राज्य अझै पनि हेरेको हेर्यै छ ।
आफ्नो शोखको लागि कतिपय घरधनीले कौसी खेती गरेका छन् । छतको डिलमा राखिएको गमलाले पैदल यात्री घाइते बनेका छन् । व्यवस्थित रुपमा गमला नराख्दा पैदल यात्रीलाई खतरा छ । यसमा पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । छतमा गमला राख्नबाट रोक लगाउनुपर्छ । पछिल्लो समय काठमाडौंमा बनेका घरहरु सबै अव्यवस्थित छन् । घर बनाएको छ तर पानी जाने ढलको व्यवस्था छैन । भन्नलाई काठमाडौंमा घर छ, आकाशबाट परेको पानी सबै फुटपाथमा ल्याएर पोख्छन् । पाइप लगाएर ढलसम्म पुर्याउनुपर्ने पानी पैसाको खर्च हुन्छ भनेर बाटोमा फ्याँक्छन् ।

माथिबाट पानी खस्दा सडक पिच पनि बिग्रिन्छ । यता, बाटो हिँडिरहेको पैदल यात्रीको लुगा सबै निथ्रुक्कै हुन्छ । यस्तो विषयमा वडा चुपचाप छ । न उसले अनुगमन गर्छ, न कारबाही । घरधनीको लापरबाहीले सरकारी सम्पत्ति पनि बिग्रियो, बाटो हिँड्ने पनि दुःख पाए । केही वर्षअगाडि हुरीबतास आँउदाखेरि होर्डिङ बोर्ड र छतको गमला खसेर केही घाइते भएका छन् ।

त्यसै गरी, कतिपयले ज्यान गुमाएको उदाहरण पनि छन् । विकासको नाममा राजधानीमा विनाशबाहेक केही भएको छैन । ठेकेदारहरुको लापरबाहीले कतिपय बालबच्चाको पनि ज्यान गयो । विभिन्न विभागले काम लगाउँछ तर काम कस्तो भएको छ ? सम्पूर्ण काम भएको छ कि छैन ? यो हेर्दैनन् । जसको कारण खनेको ढलमा परेको बालबच्चासहित अन्यको ज्यान गएको छ । नाली पनि खुला छोड्ने गरिएको छ । मुलुकभरको जनसंख्याको अनुपातमा काठमाडौंमा धेरै जनसंख्या छ । विज्ञहरुले भनेअनुसार काठमाडौं बस्नको लागि सुरक्षित छैन । यहाँ धेरै लापरबाही हुन्छ । विकासको नाममा मान्छे मार्ने काम मात्र भइरहेको छ ।

काठमाडौंमा बस्ने हरेक नेपालीले ग्यासबाट खाना पकाउँछन् । एउटा घरमा २० वटासम्म कोठा छन् । कोठापिच्छे ग्यासको सिलिन्डर हुन्छ । केही कारणबस खाना पकाउने ग्यासको सिलिन्डर पड्कियो भने योबाट धेरै क्षति हुने सम्भावना छ । हामीले बाल्ने बत्ती पनि कुन बेला सर्ट हुने हो, थाहा छैन । यसबाट पनि ठूलो जोखिम छ । विद्युत् सर्ट भएकै कारण भीषण आगजनी हुने गरेको छ । टेलिफोन, विद्युत्, इन्टरनेट, केबल कम्पनीले आफू त पैसा कमाइरहेका छन् । तर, उनीहरुले व्यवस्थित तवरले तार राखेका छैनन् । बाटोमा जथाभावी लत्रिएका तारले गर्दा ठूलो क्षति हुने निश्चित छ ।

यी कम्पनीले टेलिफोन, विद्युत्, इन्टरनेट, केबल बेचेर आफू कमाउने तर जनताचाहिँ दुर्घटनामा परेर मरिदिनुपर्ने ? शहरको सुन्दरतामा ह्रास ल्याउने पनि यिनै कम्पनी हुन् । काठमाडौंमा पछिल्लो समय भएको विकास भनेको घर बनाउने तर बाटो नछोड्ने । घर बनाउँछन् तर मोटरसाइकल पनि नछिर्ने बाटो बनाउँछन् ।

केही कारणबस आगजनी भयो भने त्यतिखेरको अवस्था के हुन्छ ? अकल्पनीय छ । दमकल नै नछिर्ने खालका विकास के काम ? दमकल छिर्न कति बाटो चाहिन्छ ? यसको सोचविचार गरेर त घर बनाउनुपर्छ । एउटा घरमा आगजनी हुँदा पूरा बस्ती नै सोत्तर हुन्छ । यसमा सरकारको पनि धेरै लापरबाही छ । थोरै जग्गामा घर बनाउन सरकारले छुट दिएको छ । काठमाडौंको अधिकांश घर जोडेर बनाइएको छ । खालि ठाउँ अलिकति पनि छोडेको छैन । सानो बाटोमा नक्सा पास भइरहेको छ । पहिले–पहिले दाउरामा खाना पकाइथ्यो । दाउरामा आगो लाग्यो भने एक बाल्टिन पानी हाल्दा निभ्छ ।

तर एउटा ग्यास पड्कियो भने पूरै बस्ती नै सिद्धिन्छ । ग्यास अति नै जाखिमपूर्ण वस्तु हो । ग्यास बाल्नेहरु अहिले हो कि भरे भन्ने थाहा हुँदैन । कतिखेर ग्यास पड्किने हो, यसको चिन्तामा बस्नुपर्ने बाध्यता छ । भारतले नेपालको खेतीयोग्य जमिन सबै सिध्याइसक्यो । नेपालीको भान्सामा भारतबाट आएको चीजबीज पाक्छ ।

यस्तो जोखिमपूर्ण ग्यास पनि भारतबाटै आउँछ । यता, नेपाल सरकार पनि गर्यगुज्रिएको छ । सरकारी गाडी किन्नको लागि लाखदेखि करोडसम्म खर्च गरिन्छ । तर, दमकल किन्न बजेट छुट्याउन नेपाल सरकारलाई लोभ लाग्छ । सरकारी कर्मचारी चाहे हिँड्ने आऊन् कि बसमा, कसलाई मतलब ? हामीलाई उनीहरुले गर्ने कामसँग मात्र मतलब । काम गरेबापत उनीहरुले तलबभत्ता पाएका छन् । सरकारले प्रत्येक वडामा दमकलको व्यवस्था मिलाउने हो भने आगलागी भएको बेला ठूलो राहत हुन्छ । छिटोभन्दा छिटो आगोलाई नियन्त्रणमा लिन सकिन्छ । नेपालमा जति पनि दमकल छन्, तीमध्ये आधा त बिग्रिएर थन्किएका छन् ।
अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्