रोटी मीठा चिल्ला, कुरा मीठा खस्रा



  • पेशल आचार्य

नेपाली साहित्यका मूर्धन्य नक्षत्र डा. तारानाथ शर्मा (जन्म वि.सं. १९९१ असार ९) को ८७ वर्षको उमेरमा गत फागुन ३ गते निधन भयो । चिनाको नाम ‘तारानाथ उपाध्याय भण्डारी’ भए पनि उनको लेखन जगत्को प्रख्यात नाम भने डा. तारानाथ शर्मा र साहित्यिक ‘निक नेम’चाहिँ ताना सर्मा थियो । कुनै बेला उनी नेपाल टेलिभिजनमा ‘विश्व घटना’ कार्यक्रम चलाउँथे । उनको मीठो बोली र प्रस्तुतिले गर्दा सो कार्यक्रम निकै ‘पपुलर’ भएको थियो । डा. तारानाथ शर्मा लामो समयसम्म एनटीभीमा महाप्रबन्धक भएका पत्रकार दुर्गानाथ शर्माका सहोदर दाजु हुन् । दुर्गानाथको पनि केही वर्षअघि नै निधन भइसक्यो ।

डा. तारानाथले थर छोपेर ‘शर्मा’ लेखे पनि आफ्नो ‘निकनेम’ चाहिँ मोटो ‘स’लाई पातलो ‘स’ बनाएर ‘तानासर्मा’ रोजे । एक त नाम जोडेर लेख्नु आफैँमा अनौठो अझ त्यसमा ‘सर्मा’ झन् अनौठो शब्द प्रयोग । जसको शब्दकोशीय अर्थ ‘कुकुर’ हुन्छ । यद्यपि ‘सर्मा’ शब्द अहिले एकेडेमीवाला बृहत् नेपाली शब्द कोशमा छैन । किन शब्द कोशले दिएन ? या राखेर पुनः हटाएको हो ? अब त्यसको उत्तर घघडान विद्वान्हरूले देलान् ।

बनारसमा अध्ययन गर्दा शर्माले प्राध्यापक बालकृष्ण पोखरेल र प्राध्यापक डिल्लीरमण तिमल्सिनाहरूसँग मिलेर ‘नौलो पाइलो’ नामक झर्रोवादी नेपाली पत्रिका निकालेथे । सोही पत्रिकाले नेपाली साहित्यमा झर्रो (ठेट) वादी आन्दोलनको नेतृत्व ग¥यो । पत्रिका केही समयपछि स्वतः बन्द भयो । अनुसन्धाता शिव रेग्मीका घरमा परारै (वि.सं. २०७६ असार÷साउनतिर) कवि महेश प्रसाईं र यो लेखक १५ दिनजति अनुसन्धानीय कामहरू लिएर जाँदा रुचिपूर्वक अन्वेषक रेग्मीलाई जिज्ञासा राख्दा उनले ‘सर्मा’को प्रसङ्ग त्यसरी निकालेथे, जुन माथि सविस्तार राखिसकियो ।

नेपाली साहित्यका ‘टावर व्यक्तित्व’ मानिने दुवै दिवङ्गत लेखकलाई अहिले दूरदराजमा बसेर सम्झनुसिवाय अरू केही गर्न सकिरहेको छैन । मात्र सुनेका, देखेका र पढेका केही कुराहरूलाई आफूलाई अति मन पर्ने लेखकको असामयिक निधन हुँदा स्वतस्फूर्त राखेको हुँ ।

खासमा मलाई मन पर्ने लेखकमध्ये डा. तारानाथ शर्मा एक हुन् । मैले उनले लेखेका ‘प्यारिस मुस्कुराउँछ रङैरङमा’ र ‘घनघस्याको उकालो काट्दा’ नामक संस्मरणहरू सरकारी हाइस्कुल पढाउन शुरु गर्दा नेपाली विषयका कोर्समा राखिएका थिए । दुवै संस्मरणहरू बेजोड थिए । एउटाले देशीय विकट भूगोलको परिचय गराउँदै ‘प्रकृतिसँग जुध्नु नै जीवनको रमाइलो हो’ भन्थ्यो भने अर्कोले ‘विदेशी भूमिको वर्णन दिल खोलेरै गर्दथ्यो ।’ दुवै रचना मनोहारी लाग्थे ।

एउटा कक्षा ९ र अर्को १० मा राखिएको हुनुपर्छ । त्यो बेला ‘एक व्यक्ति एक पुस्तक’ नीतिअन्तर्गत सम्पादित उनका कक्षा ९ र १० का ‘महेन्द्रमाला’ लेखनको लेखकस्वसमेत पाठ्यक्रम विकास केन्द्रले निकै वर्ष झुलाएर मात्रै दिएको आशयको लेख शर्माले लेखे । उनीजस्ता विद्वान् र पहुँचवाला लेखकलाई समेत त्यसरी झुलाउन सक्ने बहुदलवादी नोकरशाहहरूलाई मान्नै पर्छ । उसो त डा. तारानाथ शर्मा तत्कालीन समयका जल्दाबल्दा पञ्च तथा राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीका साढुभाइ नाताका व्यक्ति हुन् । उनका ती ‘महेन्द्रमाला’ किताब स्तरीय त थिए नै, साथै पाठ छनोट विधि असाध्यै राम्रो रहेको कुरा त्यस बेला अध्ययन गर्ने विद्यार्थी तथा अहिले स्थापित भएका नेपाली लेखकहरू सगौरव बताउँछन् ।

पञ्चायतपछि बहुदल आयो । पुराना पञ्चहरू क्रमशः खुइलिँदै गए । त्यसैको घानमा डा. तारानाथ परे । अतः उनको किताब महेन्द्रमाला नयाँ पाठ्यक्रम लागू गर्दा क्रमशः २०५६ सालबाट पूरै हट्यो । अब मुलुकमा पश्चिमा शिक्षा पद्धतिका पाठ्यक्रम अनुसारका ‘धेरै व्यक्ति : एक पुस्तक’ या द्विपृष्ठात्मक पद्धतिका पुस्तकको बाढी आयो ।

हाइस्कुलमा मात्रै यो पद्धति बसेन । क्रमशः पछि–पछि ११/१२ कक्षामा समेत यही पद्धति अक्षरशः नक्कल गरियो । पुराना र स्थापित लेखकहरूलाई पाठ्यक्रमबाट भटाभट फालियो । ‘राम्रा होइन हाम्राहरू’ रातारात चर्चित बनाइए । डा. तारानाथ शर्माका एउटा पनि रचना त्यसपछि सरकारी स्कुलमा राखिएनन् । यो भनेको ‘पञ्चायतमा हालिमुहाली गर्ने लेखकलाई बहुदलमा किन चान्स दिने’ भन्ने सोचले बायस भएरै हो । वि.सं. २०७७ बाट भर्खर ‘घनघस्याको उकालो काट्दा’ नियात्रा १२ कक्षामा राखियो । कतै–कतै निजी स्कुलले उनको सम्मान खातिर उनका निबन्ध र नियात्रालाई स्थान दिइरहेकै थिए ।

चर्चित कवि श्यामल अधिकारी डा. तारानाथ शर्माको मूल्याङ्कन गर्दै भन्छन्– ‘डा. तारानाथ आफ्नो समयका बाघ हुन् । हामी आफ्ना रचनाको दबाब सिर्जना गरेर नेपाली कवितामा स्थापित हुने प्रयत्न गरिरहँदा अमेरिकाबाट भर्खरै फर्केका डा. तारानाथ शर्माले हाम्रो पहिचान स्थापित गरिदिएका थिए, ‘समसामयिक साझा कविता’ मा हामी केहीलाई प्रमुखताका साथ समावेश गरेर । यसपघि नेपाली समालोचक भानुभक्त, लेखनाथ, माधव घिमिरेमै सीमित थिए । नेपाली कविताको गति र प्रवाहलाई तिनले सुँघ्न, छाम्न र चिन्न सकेका थिएनन् । मोहन कोइराला, भूपी र पारिजातसम्म आएर रोकिन्थे र नवलेखनलाई छुने बेला नभइसकेको बताइरहेका थिए । उनलाई गुरु, मेन्टर वा साथी जे भने पनि हुन्छ ।’

उनी अघि थप्छन्– ‘नेपाली साहित्यका इतिहासकार, अङ्ग्रेजी भाषाका प्राध्यापक, रिमालको ‘आमाको सपना’का सम्पादक, नियात्रा विधाका उन्नायक, कथाकार/उपन्यासककार र भाषाविद्, चर्चित झर्रो नेपाली भाषाका अगुवा अभियन्ता र प्रयोक्ता डा. तारानाथ शर्माको निधनले नेपाली साहित्यको निर्भीक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुन्छ ।’
बीएड् पहिलो वर्षको ‘नेपाली नाटक र निबन्ध’ (४१७) मा करिब डेढ दशकदेखि नेपाली निबन्धमा डा. तारानाथ शर्माको ‘आँसु छचल्किँदै जान्छ’ नामको आत्मपरक निबन्ध राखिएको छ । त्यो निबन्ध तारानाथको विशुद्ध आत्मपरक र लेखन जीवनकै उत्तरार्ध पाटोको निबन्ध सङ्ग्रहभित्रको मास्टर निबन्ध हो । ‘आँसु छचल्किँदै जान्छ’ निबन्ध सङ्ग्रहका लागि उनले चर्चित पाण्डुलिपि पुरस्कार पाए ।

‘मानिसको आदिम सभ्यता, पितृ ऋण, जीवनको गुढ रहस्य, आफन्तका मृत्यमा बगेको आँसु वेगवान् नदीझैँ हुने र सन्ततिले पुर्खाको सम्मान गर्नुपर्ने’ भन्ने अर्थमा सो निबन्ध गहिरो छ । त्यहाँ १३ जना निबन्धकारहरू कोर्सले समेटेकोमा जीवित निबन्धकारहरूमध्ये डा. तारानाथ शर्मा, देवीचन्द्र श्रेष्ठ र युवराज नयाँघरे तीनजना नै नियात्राकार मात्र बाँकी थिए, अन्य १३ मध्ये दशले सांसारिक चोलाबाट मुक्ति पाइसकेका थिए । डा. तारानाथ पनि गएपछि अब दुईजना मात्र रहेका छन् ।

डा. तारानाथको लेखनशैली देखेको, जानेको, अनुभव गरेको र कल्पनामा आएको भावलाई झर्रो पाराले भन्दिने हो । उनले लेख्दा मानिसहरू रिसाए अझ मुद्दासमेत परेर शर्मा थुनिए । उनलाई पञ्चायत कालमा चाँदनी शाह उपनामकी तात्कालीन रानी ऐश्वर्यका नाममा कविता लेखिदिने ‘घोस्ट राइटर’ समेतको आरोप लाग्यो । उनले बालकृष्ण समको ‘चिसो चुल्हो’लाई ‘नेपाली साहित्यको झुसिलो डकार’ भने । राजा महेन्द्रका कवितालाई आलोचना गरेबापत जेल जीवनको सयर गरे । पछि ‘सम र समका कृति’ लेखेर बालकृष्ण समलाई फकाउने कामसमेत गरेका थिए ।

उनका ‘घोत्ल्याइँहरू’, ‘दुई पोका चुरा’, ‘सुली’ र ‘बेलायततिर बरालिँदा’ नामका पुस्तकहरू उनको लेखक जीवनको पूर्वाद्र्धकै उम्दा कृति मानिन्छन् । ‘बेलायततिर बरालिँदा’ नियात्रा कृतिका लागि उनलाई २०२७ सालको मदन पुरस्कारसमेत प्राप्त भयो । उनका करिब १ सय १८ वटा किताबहरू प्रकाशित छन् ।

प्रकारान्तरले उनी निबन्धकार, सम्पादक, समालोचक, पाठ्यपुस्तक लेखक, आख्यानकार (कथाकार, उपन्यासकार), साहित्यिक इतिहासकार र भूमिका लेखकका रूपमा स्थापित भएका थिए । डा. तारानाथ शर्मा दार्जीलिङमा पढ्न बस्दा र सिकारू लेखक हुँदाका अवस्थामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले दार्जीलिङ भ्रमणको प्रभावपूर्ण भेटमा मन्तव्य दिएपछि उनी कविताबाट विधान्तर भई निबन्ध एवम् पछि क्रमशः यात्रा निबन्ध (नियात्रा) विधामा धेरै ठूलो सफलता पाएका साहित्यका रत्न हुन् ।

डा. तारानाथले देवकोटासँग कापीमा अटो भरिमाग्दा देवकोटाले ‘बाबु कविता आगो हो, नलेख्नु त्यसले पोल्छ’ लेखिदिएको कुरा अन्वेषक शिव रेग्मीले परारै भनेको अझै झल्झली याद आइरहेको छ । त्यो खोजकर्ताले पत्ता लगाऊलान् !

मैले डा. तारानाथलाई एउटा कार्यक्रममा अप्रत्यासित रूपमा भेट्ने मौका पाएँ । भेटको सौभाग्य जुराइदिने साहित्यकार थिए– कवि महेश प्रसाईं । तिनताक प्रसाईं र म प्रायः साहित्यकारहरूसँग भेट गरिरहन्थ्यौं । कवि मणिराज सिंहलाई सम्मान गर्ने कार्यक्रममा ललितपुर इमाडोलको कृष्ण मन्दिरछेउमा रहेको पार्टी प्यालेसमा भएको कार्यक्रममा मैले तारानाथलाई भेटेको थिएँ । त्यो बेला उनी बिरामी थिए । शान्ता भाउजूले डोर्याएर ल्याउनुभएको थियो । महेश दाइले पारिवारिक वातावरणमा झैँ परिचय गराउनुभयो । सम्झनाका लागि फोटाहरू खिच्यौं ।

उहाँले प्राकृतिक झर्रो शैलीमै सोध्नुभयो– ‘के पढाउँछौ ?’ मैले भनेथेँ– ‘नेपाली र तारानाथ ।’ अनि उहाँ फिस्स हाँस्नुभयो । पछि कार्यक्रम सकिँदा खानाको सुप्रबन्ध रहेछ । मैले खानेकुरा लिएँ । डा. तारानाथलाई डाक्टरको सल्लाह अनुसार परहेजमा राखिएको कुरा शान्ता भाउजूले सुनाउनुभयो तर तारानाथचाहिँ भार्यासँग पिरो, चिल्लो र गुलियो खान केटाकेटीझैँ जिद्दी गरिरहेथे ।

पछि धेरैचोटि महेश दाइले उहाँको घर चाबेल, सरस्वतीनगर लैजाने भनी कहिल्यै लैजानुभएन । कहिले के हुने, कहिले साइत नजुर्ने यसै गरी समय बितिरहेको थियो । एकदिन अङ्गुर किनी कोसेली लिई जान लागेका थियौं तर बीचैमा हामी दुई तेस्रो व्यक्तिको अतिथि बनेर खानपिनमा अल्झिनुपर्यो । तारानाथलाई लगेको अङ्गुर आफैँले खाएर आयौं । त्यो बेला पुलिसले मापसे चेकिङ शुरु गरिसकेको थिएन ।

त्योभन्दा अलि अघि रहेछ । रामहिटी काठमाडौँमा भएको एउटा सम्मान कार्यक्रममा डा. तारानाथ शर्मा प्रमुख अतिथि थिए । मसमेत करिब तीसौं जनाले सो कार्यक्रममा सम्मान थापेका थियौं– उनैका हातबाट । कार्यक्रमपछि खाजा समयमा रसिक पाराले गफिएथे बूढा, हामीसँग । अदब राखेरै कुरा गरियो । फरक बान्कीका लेखक डा. तारानाथ साँच्चै आफ्नो समयका बाघ लेखक हुन् । ‘रोटी मीठा चिल्ला र कुरा मीठा खस्रा’ भन्ने मान्यताका खम्भीर हिमायती तथा झर्रोवादी लेखक तारानाथलाई भेट्न त्यसपछि कहिल्यै जुरेन शायद अब जुर्नेछैन ।
उनलाई समकालीन लेखकले कति आदर गर्थे भन्ने कुरा बनारसमा बास्दा प्रा. बालकृष्ण पोखरेलले त्यहीँको पत्रिकामा ‘तारे’ शीर्षकको लेखमा भनेका छन् । अति ‘मन पर्ने’ र ‘मनले खाएको लेखकजस्तो उम्दो लेखक’ डा. तारानाथ शर्मामा अनन्त श्रद्धाञ्जलि प्रकट गर्दै उहाँप्रति उच्च सम्मान भावले यिनै ‘शब्दाहारमार्फत शिर निहुराउँछु ।

प्रतिक्रिया दिनुहोस्