मानव अधिकार उल्लंघनका घटनामा ६ हजारभन्दा बढी पीडित



काठमाडौं ।

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२१ का मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा सो तथ्यांक समेटिएको हो ।

इन्सेकको अभिलेखअनुसार सन् २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भए । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०२१ मा मानव अधिकार उल्लंघनका घटनामा ५२ महिला र ५ सय १० पुरुष गरी जम्मा ५ सय ६२ जना तथा ज्यादतीका घटनामा ५ हजार १ सय ६३ जना महिला र ५ सय ६० जना पुरुष गरी जम्मा ५ हजार ७ सय २३ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनुभयो ।

यो वर्ष यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना, भेला तथा संगठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएको अभिलेख रहेको इन्सेकले जनाएको छ ।

सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ४ सय १६ जना पीडित भएको अभिलेख भयो । बाल अधिकार उल्लंघनका घटनामा १ हजार ५ सय २२ जना बालबालिका पीडित भएको अभिलेख भएको इन्सेकले जनाएको छ ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस वर्ष राज्य पक्षबाट ६ जनाको हत्या भएको र यातनाका घटनामा ३ जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना अमानवीय व्यवहारका घटनामा २४ जना पीडित भएको बताउनुभयो । ‘भेला तथा संगठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएको अभिलेख भयो’ –गौतमले भन्नुभयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को विमोचन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अध्ययन, अनुसन्धानको दस्तावेजका रूपमा रहेको नेपाल मानव अधिकार वर्ष पुस्तकले समेटेका विषय वस्तुलाई हेर्दा पछिल्लो १० वर्षमा महिलाहरू बढी पीडित भएको बताउनुभयो ।

अध्यक्ष मगरले परिवारबाटै महिलाको हत्या हुनु र कतिपय घटनालाई गुपचुप गर्नु, हिंसाका घटनामा मिलापत्र भइरहनुलाई दुखद रूपमा लिँदै हिंसा र विभेदको न्यूनीकरणका लागि आर्थिक विकास र समृद्धिमा जोड दिनुभयो ।

उहाँले घरेलु कामलाई आर्थिक गणनामा राख्नुपर्ने उल्लेख गर्दै दाइजो प्रथाका कारण महिला हिंसाका घटना हुँदै आएको र आत्महत्याका नाममा परिवारबाट हत्या भएका घटनाको प्रहरीबाट राम्रोसँग अनुसन्धान नगरिएको उजुरी आयोगमा आएको बताउनुभयो ।

इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा १ सय १२ जना महिलाको हत्या परिवारजनबाट भएको उल्लेख छ । त्यसै गरी दाइजोका कारण ६ जनाको हत्या र १० जना गम्भीर प्रकारका घरेलु हिंसाबाट पीडित भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्