कुशलको शतकमा नेपालको फराकिलो जित



काठमाडौं ।

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा फिलिपिन्सविरुद्ध खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गर्दा नेपालले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हराएको हो । यो नेपालको लगातार दोस्रो जित हो, पहिलो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपाल विश्वकप छनोट सेमिफाइनल निकट पनि पुगेको छ । नेपालले समूहमा क्यानडाविरुद्ध खेल्न बाँकी छ ।

नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रन बनाएपछि जित्ने छनक देखायो । उक्त स्कोरमा पुर्याउन कुशल र दीपेन्द्रसिंह ऐरी कीर्तिमानी साझेदारी गरेका थिए । ३६ रनका लागि दुई विकेट गुमेपछि कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए । यो नेपाली क्रिकेटमा टी २० आईमा कुनै पनि विकेटका लागि उच्चतम रनको साझेदारी हो ।

त्यस्तै ६१ बलमा १ सय ४ रन बनाएका कुशल टी–२० आईमा नेपालको तर्फबाट शतक प्रहार गर्ने तेस्रो ब्याटर बनेका छन् । यसअघि, पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपालका लागि शतक प्रहार गरेका थिए । कुशलले ५७ बलमा शतक प्रहार गरेका हुन् । नटआउट रहेका उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै उनलाई साथ दिएका दीपेन्द्रले पनि विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ८३ रनको योगदान दिए । उनी शतकतिर अग्रसर भइरहेको स्थितिमा आउट भए । अन्य आउट हुनेमा ओपनर आसिफ शेख (०) र कुशल मल्ल (१२ रन) हुन् । लोकेश बम ६ रनमा नटआउट रहे ।

जवाफमा उत्रेको फिलिपिन्स टिम निर्धारित २० ओभरसम्म कोशिस गरे पनि ८ विकेटको क्षतिमा ८२ रनमै समेटियो । यो फिलिपिन्सको लगातार दोस्रो हार हो । यसअघि, पहिले खेलमा फिलिपिन्स क्यानडासँग हारेको थियो । नेपाली बलरमा कप्तान सन्दीप लामिछानेले ४ ओभरमा केवल ९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्ल, दीपेन्द्र, अविनाश बोहरा, जितेन्द्र मुखिया, गुलसन झाले १–१ विकेट बाँडेका थिए । नेपालले समूहमा क्यानडासँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्