गौरवविहीन दिवस



यस पटक प्रजातन्त्र दिवसको तिथि शनिबार पर्यो । प्रायः कार्यालय जानेहरु शनिबार बाहिरी संसारबाट बेखबर आफ्m्नै दुनियामा हराइरहेका हुन्छन् । फागुन ७ गतेको गौरवपूर्ण इतिहास, जहानिया राणा शासन हटाएर प्रजातन्त्र ल्याएको सन्दर्भ, राजनीतिक परिवर्तनका लागि जनताका छोराछोरीले दिएको वलिदान सम्झेर आम नेपालीमा जुन उत्साह र फुर्तीको सञ्चार हुनुपर्ने हो, त्यस्तो केही देखिएन । मानौं, प्रजातन्त्र ल्याएकोमा नेपालीलाई खासै गौरवको अनुभूति भइरहेको छैन, भगिरथ प्रयास खेर गएपछि निराश बनेको कुनै लगानीकर्ताजस्तो मानिसहरु प्रजातन्त्र दिवस निरपेक्ष देखिए– न विरोध, न समर्थन ।

यो मनोभाव र प्रवृत्ति सामान्य होइन । आम नागरिकमा प्रजातन्त्रप्रति कुनै मोह नभएको होइन, यसको महत्व पनि उनीहरुले नबुझेका होइनन् । प्रजातन्त्र दिवसको अवसरमा नेपाली सेनाले मात्र टुँडिखेलमा निस्केर प्रदर्शनी गर्ने हो कि आम नेपालीले पनि आ–आफ्नो क्षेत्रबाट समारोह गर्नुपर्ने हो, प्रश्न अनुत्तरित छ । एक सय चार वर्षसम्म राणाहरुले जहानिया शासन चलाए, नेपाली नागरिकलाई सबै प्रकारका अवसरबाट वञ्चित गराए, तर जनदबाबका अगाडि उनीहरुको केही लागेन, २००७ साल फाल्गुण ७ गते उनीहरुको सत्ता ढल्यो । आज त्यही दिनलाई सम्झेर प्रजातन्त्र दिवस मनाउने गरिन्छ तर यो एक प्रकारको कर्मकाण्डमा सीमित भएको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संघीय प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधान सेनापति आदि भेला हुने, सैनिक जबानका एक्रोब्याटिक गतिविधि र हर्कबढाइँ आदि हेर्ने कार्यमै सीमित हुन्छ । कुरा प्रजातन्त्र दिवसको मात्र होइन लोकतन्त्र र गणतन्त्र दिवसप्रति पनि जनताको रुचि देखिएन । संविधानसभाको पहिलो बैठकले २०६५ सालमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको अवसरमा हरेक जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । तर राजतन्त्रको उन्मूलनप्रति पनि जनतामा प्रसन्नता देखिंदैन । कुनै दिवसलाई कहिले भव्य रूपमा त कहिले औपचारिकतावश मात्र मनाउने शैलीले तिनको महत्वमा थपघट गर्दा गलत सन्देश पनि गइरहेको छ । यस्ता दिवसमा सामाजिक सञ्जालमा बढी निराशाको स्वर सुन्नेगरिन्छ । राणा शासन वा राजतन्त्रप्रति आकर्षण भएका कारण जनतामा यस प्रकारको उदासीनता देखिएको होइन, बरु आजका राजनीतिक दलहरु राणा र शाहभन्दा पनि अप्रिय भएका कारण ‘जे गरेपनि भएन’ भन्ने भावनाले एक प्रकारले वर्तमान नेताहरुप्रति जनताले विरोध जनाएका हुन् । आफूले नेतृत्व गरेका कारण २००७ सालको क्रान्तिका विषयमा नेपाली कांग्रेसको विशेष आशक्ति र भावना जोडिएको छ जबकि कम्युनिष्टहरूले त्यसलाई परिवर्तन मात्र भन्न रूचाएका छन् ।

हरेक मुद्दामा विवाद, तेरो र मेरोको लोभ, सत्तामा जानका लागि मीठा कुरा, तर सत्तामा पुगेपछि जनताप्रति पूर्णतः बेवास्ता, आम राजनीतिक दलको प्रवृत्ति बनेका कारण जनताले परिवर्तनको अनुभूति गर्नसकेनन् । त्यसैले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवसहरुमा नेपालीको चासो घटेको छ । भनिन्छ, यस्तो अवस्थाले विदेशी आक्रमण निम्त्याउँछ, बाह्य हस्तक्षेपप्रति विरोधमा उत्रने जनताको जाँगर घटाउँछ । दलका नेताहरुकै कारण यस प्रकारको अप्रिय अवस्था आएको बेलैमा बुझ्नु आवश्यक छ । त्यसैले राजनीतिक दल र नेताहरु सच्चिनुको विकल्प देखिंदैन ।

प्रतिक्रिया दिनुहोस्