एमसीसी सम्झौतामा के लेखिएको छ ? (२)



(निरन्तर…..) अमुक शीर्षकमा तोकिएको रकम काम सम्पन्न भएर उब्रिन गएमा एमसीसीले नेपाल सरकारलाई लिखित जानकारी दिएर कहाँ कसरी खर्च गर्ने भन्नेछ ।

खण्ड २.३ एमसीसी लगानीः कार्यक्रमका लागि तोकिएको रकम र सम्झौता भएको रकम दुवैलाई यहाँ एमसीसी कोष भनिएको छ । यसमा नेपाल सरकारले लगानी गरेको रकम पनि पर्छ ।

खण्ड २.४ वर्गीकरणः कुन शीर्षकका लागि कति खर्च तोक्ने भन्ने कुरा सहमतिअनुसार हुनेछ । यसरी तोकिएको रकम दुई किसिमले भुक्तानी गर्न एमसीसी तयार छ । नेपाल सरकारले कुनै बैंक खातामा एकमुष्ट माग गरेमा त्यहाँ रकम जम्मा गर्न र विभिन्न बैंकका खातामा शीर्षकअनुसार बेग्लाबेग्लै रकम पठाउन पनि ऊ तत्पर हुनेछ । भुक्तानीको अर्को विकल्प भनेको वस्तु वा सेवा प्रदायकलाई प्रत्यक्ष रकम पठाउने हो, त्यसका लागि पनि एमसीसी तयार छ । तर, एमसीसीले कार्यक्रम खर्चका लागि मात्र भुक्तानी दिनेछ ।

खण्ड २.५ ब्याज : रकमको ब्याज नेपाल सरकारले एमसीसीलाई भुक्तानी दिनेछ वा हस्तान्तरण गर्नेछ । कार्यक्रम कार्यान्वयन सम्झौताअनुसार नै ब्याज रकमको व्यवस्थापन गरिनेछ । यस्तो रकम पनि एमसीसीको कार्यक्रमकै लागि खर्च गर्ने कुरामा प्राथमिकता दिइने छ ।

खण्ड २.६ नेपाल सरकारको लगानी वा बजेटः
क) यस सम्झौताअन्तर्गतको सबै जिम्मेवारी पूरा गर्न नेपाल सरकारले आफ्नो तर्फबाट लगानी गर्नुपर्ने सबै बजेट र अन्य स्रोतसाधन लगानी गर्नेछ । यस अतिरिक्त सम्झौताको लक्ष्य हासिल गर्न सबै प्रकारका भूमिका निर्वाह गर्ने जिम्मेवारी पनि नेपाल सरकारले नै लिनेछ । परिशिष्ट २ मा नेपाल सरकारले गर्ने कामको विस्तृत विवरण खुलाइएको छ ।
ख) एमसीसी परियोजना अवधिभर नेपाल सरकारले आर्थिक वर्षको बजेट घोषणा गर्दा नै यस परियोजनाका लागि आवश्यक पर्ने बजेट छुट्याउने छ ।
ग) नेपाल सरकारले कुनै पनि बहानामा एमसीसी परियोजनाले निर्दिष्ट गरेको बजेट अंक घटाएर छुट्याउने छैन । अन्य स्रोतसाधन जुटाउन र लक्ष्यअनुसारको काम अघि बढाउन पनि उत्तिकै सक्रिय रहनेछ ।
घ) नेपाल सरकारले एमसीसीलाई लिखित रूपमा अन्यथा जानकारी नगराएसम्म सम्झौतामा उल्लेख गरिएबमोजिम नै सबै प्रक्रिया अघि बढ्ने छ ।

खण्ड २.७ एमसीसी रकमको प्रयोगमा सीमा : नेपाल सरकार एमसीसीको सहयोग रकम अमेरिकाको कानुन र नीतिविपरीत कतै पनि अन्य उद्देश्यका लागि खर्च नगर्ने प्रतिबद्धता जनाउँछ । देहायको प्रयोजनका लागि एमसीसीको बजेट खर्च हुनेछैन र यस्ता अन्य विषयमा पनि खर्च गर्न पाइने छैन :
क) सेना, प्रहरी, हतियारधारी, राष्ट्रिय सुरक्षा दल अन्य अर्धसैनिक दस्तालाई सहयोग गर्ने वा तालिम दिने ।
ख) अमेरिकी काम र उत्पादनमा बलियो घात पुर्याउने कुनै पनि कार्य ।
ग) वातावरण, स्वास्थ्य र सुरक्षाका क्षेत्रमा नोक्सान पुर्याउने र एमसीसी वातावरण निर्देशिका विपरीत कार्य गर्न–गराउन सघाउने ।
घ) परिवार नियोजनका नाममा गर्भपतन वा भ्रूण विनाश गर्ने, यस्तो कार्य गर्न दुरुत्साहन गर्ने, यस्ता विषयमा बायोमेडिसिन अनुसन्धान गर्ने व्यक्तिलाई सघाउने ।
(क्रमशः)

अघिल्लो भाग पढ्नुहोस् : एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) मा के लेखिएको छ ? (१)

प्रतिक्रिया दिनुहोस्