दलीय स्वार्थको पराकाष्ठा



जनताको सर्वोच्च निकाय संघीय प्रतिनिधिसभामा बुधबार टेबल हुन तयार अमेरिकी सरकारको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सत्तामै रहेको बलियो दल नेकपा माओवादी केन्द्रको लिखित विरोधका कारण टेबल हुन पाएन । यो प्रस्ताव न त संविधान विरुद्ध थियो, न त अकस्मात सिर्जना भएको कुनै अज्ञात विषय । जनताले नै चुनेका आधा दर्जन प्रधानमन्त्री र सरकारले हेरेको र पारित गर्न आ–आफ्नो पक्षबाट पहल गरेको विषय थियो यो । प्रतिनिधि सभामा प्रवेश गराएर संसदले फेल गराएको भए मित्र राष्ट्र अमेरिकालाई हाम्रो प्रक्रियाले स्वीकार गरेन, फिर्ता लैजाऊ भन्न सकिन्थ्यो । टेबल गर्नै नदिएर झन् अन्योल बढाइयो ।

अहिले नेपालको राष्ट्रिय राजनीति मिमिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)) अनुदान सहायता सम्झौताको सम्बन्धमा केन्द्रित रहेको छ । यो सम्झौताको पक्ष–विपक्षमा प्रमुख राजनीतिक दलहरु विभाजित छन् । वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा भएपनि माहौल निर्वाचनभन्दा एमसिसीप्रति केन्द्रित छ । ६ जना फरक–फरक प्रधानमन्त्री र अर्थमन्त्रीले सहमति जनाएको यो एमसिसी अहिले किन यति धेरै विवादित भयो भन्ने बारेमा आम चासो पनि रहेको छ । एकथोक भन्ने अर्थोक गर्ने नेपालको राजनीतिक दल र नेताहरु नै एमसिसी कहिले ठिक कहिले बेठिक भनिरहेका छन् । यी राजनीतिक दलहरुले एमसिसी ठीक भन्ने पक्षमा होस् वा गलत भन्ने पक्षमा आम जनतालाई भ्रम सृजना गरिरहेका छन् । १० वर्षअघि शुरु भएको एमसिसी सम्झौता पक्रिया अहिले संसद्बाट अनुमोदन गर्ने चरणमा पुगेको छ । तत्कालीन नेकपा नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकारको मिति २०७५ माघ २५ गतेको मन्त्रिपरिषद्को वैठकले ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संसदमा पेश गर्ने निर्णय गरेको र २०७६ असार ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरेको हो । २०६८ सालमा तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि शुरु भएको एमसिसी सम्झौता प्रक्रियामा नेपालका सबैजसो दलहरू र नेतृत्व प्रत्यक्ष रुपमा सहभागी भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ को वैशाखमा एमसिसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्ने गरी सञ्चालन र कार्यान्वयन गर्न एमसिए–नेपाल गठन गरेको हो । विकास समिति ऐन, २०१३ अनुसार विसं २०७५ वैशाख ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एमसिए–नेपाल गठन भएको हो । सम्झौतामा हस्ताक्षर भएको २ वर्षपछि २०७६ असोज १२ मा परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर पनि नेकपाको सरकारले नै गरेको हो ।

सरकारमा रहँदा एउटा कुरा प्रतिपक्षमा रहँदा अर्को कुरा गर्ने पार्टीका भातृ एवं शुभेच्छुक संघ–सस्थालाई उचालेर अहिले एमसिसी गिजोलिएको छ । एमसिसी गिजोलेर चुनाबी राजनीति गर्नुभन्दा संसदमा विस्तृत छलफल गरेर एमसिसी ठिक भए पारित गर्ने बेठिक भए फेल गर्ने गर्नुपर्छ । नेताहरुले दलीय राजनीतिको घाटा–नाफाको हिसाब नहेरी देश र जनताको फाइदा बेफाइदाप्रति चासो दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्