गाउँमै पुगेर पढाउँछन् शिक्षक



दोलखा ।

दोलखाको हिमाली गाउँ ठोङठोङमा रहेको प्राथामिक विद्यालयका विद्यार्थीलाई कोरोना कहरको समयमा पनि गाउँ–गाउँमै पुगेर पढाउने गरिएको विद्यालयका शिक्षकले बताएका छन् । कोरोना कहरको बेला विद्यालय आउन समस्या हुने भएकोले सबै विद्यार्थीलाई गाउँ–गाउँमा पुगेर पढाउने गरिएको विद्यालयका शिक्षक धनबहादुर बस्नेतले बताउनुभयो । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ को हिमाली गाउँ ठोङठोङमा रहेको ठोङठोङ प्राविमा १२ जना विद्यार्थी रहेको र उनीहरूलाई कोरोना कहरको समय विद्यालय बन्द हुँदा पनि गाउँ–गाउँमै पुगेर गृहकार्य दिने, पढाउने र गृहकार्य परीक्षण गर्ने गरिएको शिक्षक बस्नेतले बताउनुभयो ।

विगतमा शिक्षक नियमित नबसेपछि पढाइमा समस्या देखिएर विद्यार्थीको सहभागिता घट्दै गएकोले आफूले कोरोना कहरको समयमा समेत गाउँ–गाउँमा पुगेर पढाउने गरेको शिक्षक वस्नेतको भनाइ छ । तामाङ समुदाय रहेको ठोङठोङमा विद्यालयमा पढाइ भएन भने बालबालिकालाई भारत लाने गरिएकोले उनीहरूलाई पढाइमा बानी पार्न कोरोना कहरको समयमा समेत गाउँ–गाउँमै पुगेर पढाउने गरिएको बस्नेतले बताउनुभयो ।

विद्यालयका अभिभावक मङ्गली तमाङले कोरोनाको बेला विद्यालय सञ्चालन नभएको तर सर, मिसले गाउँमा आएर पढाउने गरेको बताउनुभयो । विद्यालय रहेको क्षेत्र ठोङठोङ, बलफिङ र काटुङ गरी तीन गाउँमा १७ घरधुरी रहेकोमा पाँच घरधुरी लामाबगरमा बसाईं सरेकोले १२ घरधुरीका १४ बालबालिकामध्ये १२ जना नियमित विद्यालय आउने गरेको शिक्षक बस्नेतको भनाइ छ । दुई बालबालिका भने भारतमा लामा पढ्न गएको उनले बताउनुभयो ।

ठोङठोङ खोलामा पुल नहँुदा वर्षाको समयमा बलफिङ र काटुङका ६ जना विद्यार्थी विद्यालयसम्म आउन नसक्ने भएकाले उनीहरूलाई गाउँमै पुगेर पढाउनुपर्ने बाध्यता रहेको वस्नेतको भनाइ छ । विद्यालयको कार्यालय सहयोगी बिनु तमाङले १२ कक्षा पास गरेकोले वर्षाको समयमा उनले बलफिङ र काटुङका विद्यार्थीलाई गाउँमै पुगेर पढाउने गरेको बस्नेतले बताउनुभयो । अहिले काठको पुल राखिएको भए पनि वर्षाको समयमा समस्या हुने उहाँले बताउनुभयो ।

भूकम्पपछि विद्यालयको भवन क्षतिग्रस्त भएपछि केही समय पढाइमा समस्या देखिएको र अहिले पुनर्निर्माण प्राधिकरणको सहयोगमा दुईकोठे भवन निर्माण भएको बस्नेतले बताउनुभयो । ठोङठोङ प्राविको बाल कक्षामा दुई छात्रासहित तीन जना, कक्षा एकमा पाँच छात्रासहित छ जना र कक्षा दुईमा दुई छात्रासहित तीन जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
विगु गाउँपालिकाको शिक्षा शाखाका निमित्त प्रमुख नवराज बस्नेतले ठोङठोङ प्राविमा कोरोना कहरको समयमा समेत पढाइ भएको उल्लेख गर्दै विद्यालयमा खानेपानीको समस्या र खोलामा पुल नहुँदा विद्यार्थीलाई आउजाउमा समस्या भएको बारेमा भने पालिकामा जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्