काठमाडौं ।
नेकपा एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने बताउँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
आज बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले संसदमा एमसीसी टेबल नगर्न अनुरोध गर्ने बताउँदै जबरजस्ती टेबल भएमा आफू सरकारबाट नै बाहिरिने बताए ।
एमसीसीमा रहेका असमान सर्त र असमान प्रावधान संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन नसकिने भन्दै तत्काल यसलाई पास गर्न नसकिने माओवादीले निर्णय गरेको छ ।
सदन सुचारू गर्न जोड दिने निर्णय गर्दै माओवादी केन्द्रले सदन सुचारू नभएसम्म कुनै पनि एजेन्डा अगाडि बढाउन नसकिने जनाएको छ ।यसका लागि विपक्षीसँग आग्रह गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।
त्यस्तै एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटेसम्म प्रक्रिया अघि बढ्न नदिनेसमेत निर्णय गरेको छ । आजको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रबल सम्भावना छ । अहिले एमसीसीविरुद्ध सडकमासमेत आन्दोलन भइरहेको छ ।
प्रतिक्रिया