एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा



काठमाडौं ।

एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् । सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका हुन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद् भवन बानेश्वर घेराउ गर्ने  कार्यक्रम छ । अनेरास्ववियुका नेताहरूका अनुसार  बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटेल अगाडि भेला भएर संसद् भवनसम्म प्रदर्शन गरिनेछ ।

त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गर्दै छ । एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

अन्य दल र समूहको पनि प्रदर्शन
एमसीसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन् । एमसीसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका  नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरूले बताएका छन् । पूर्व सुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने  कार्यक्रम छ ।

हाम्रो नेपाल, हामी नेपाली अभियानले पनि दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दै छ । राप्रपाका भातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद् भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्