दिलबाट टाढिए दल



राजनीतिक दलप्रति जनताको अनास्था बढ्दो क्रममा रहेको छ । दलको पछिल्लो गतिविधिले जनतामा निराशा छाएको छ । जसले जे गरेपनि हुन्छ भन्ने दलीय सोचाइका कारण गणतन्त्र नै धरापमा पर्ने अवस्था सिर्जना भएको छ । हिजो जनताका रोजाइमा परेका नेता आज घृणाका पात्र बन्न थालेका छन् । नेतामा चेत हराउँदा बेथितिले राज गर्न थालेको छ । तर पनि नेताहरु भने दन्तबझान गर्दै लामो संर्घषपछि प्राप्त भएको गणतन्त्रलाई धरापमा पार्न उद्दत भएको देखिन्छ ।

‘दलीय स्वार्थ’ गालीका रुपमा प्रयोग हुँदैआएको पदावली हो । निरंकुश पञ्चायती व्यवस्थाका बेला बहुदलीय व्यवस्था असफल हुनुका कारणमा यस पदावलीलाई पाठ्यपुस्तकमै राखेर पनि पढाइयो । तर ‘स्वार्थ’ को पर्याय ‘हित’ राखेर हेर्नेहो भने लोकतान्त्रिक अभ्यासभित्रै यसलाई समेट्नसकिन्छ । राजनीतिक दलले नै शासन गर्ने र असल शासनले नै देश बनाउने भएकाले दलको हितमा काम गर्नु अस्वाभाविक होइन । तर जुन दलमा राजनीतिक विचार र अनुशासन हुन्छ, त्यसको हित भयो भने मात्र देश बन्नेहो । तर यतिखेर सिद्धान्त र विचारमा बाँधिएका दल पाउनु मुस्किल भएको छ । हिजो राजतन्त्रविरुद्ध नारा लगाउने जमात बिस्तारै गणतन्त्रविरुद्ध नारा लगाउन थाल्दासमेत नेताहरु दलमा विचारलाई मान्यता दिन सकिरहेका छैनन् । लामो अस्थिरतापछि जनताले कम्युनिष्टहरुलाई राज्य सत्ताको साँचो सुम्पेका थिए, तर आन्तरिक कलहले उनीहरुको हातबाट सत्ता मात्र गुमेन पार्टी विभाजनको पीडासमेत आइलाग्यो । सत्ता नेपाली कांग्रेसको हातमा सुम्पिएका कम्युनिस्टहरु अहिले एकले अर्कालाई सिध्याउने खेलमा लिप्त भएका छन् भने कांग्रेसजनहरु कम्युनिस्टको बाझाबाझमा रमिते बनेर मुलुकलाई बर्वादीको बाटोतर्फ लैजान उद्दत देखिन्छन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनपछि पुनः प्रधानमन्त्री भएर देशलाई समृद्ध बनाउने घोषणा गर्न पछि परेका छैनन् । तर उनका खुट्टी हेरेरै जनताले परिणाम चाल पाइसकेका छन् । अभावै अभावले छटपटिएका जनताका लागि केही गरौं भन्ने भावना जागृत हुनुपर्ने दलका नेताहरु फोहोरी राजनीतिमा लिप्त भएर जनताको वलिदानीबाट प्राप्त भएको परिवर्तनलाई नजरअन्दाज गर्न थालेका छन् । यसले मुलुकमा स्थापित हुँदै गएको गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ताले जनता सशंकित हुनथालेका छन् तर नेताहरुले मुलुकको समस्याबाट विमुख हुँदै सत्ताको फोहोरी खेलमा लाग्नुलाई दुर्भाग्य नै मान्नुपर्दछ । आन्तरिक राजनीतिक किचलोमा रुमलिएको नेपाली राजनीतिलाई नजिकबाट हेरिरहेका विदेशी शक्तिहरु नेपाललाई अस्थिरतातर्फ लैजान कोशिष गरिरहेका छन् । अहिले मुलुकमा हट केक बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण दलीय गठबन्धन धरापमा पर्ने अवस्था सिर्जना भएको छ भने अर्कोतिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाएर राजनीतिलाई तरंगित पार्ने काम सत्ता गठबन्धनले गरिरहेको छ ।

आफूले भनेजस्तो नभए महाअभियोग ल्याउने र कर्मचारी तन्त्रमाथि हावी हुनखोज्ने सत्ता गठबन्धनको पछिल्लो कदमले कर्मचारीलाई तर्साउने र आफू अनुकूलको निर्णय गराउने काममा दलहरु लागेका छन् भन्दा फरक नपर्ला । यस्ता कदमले मुलुकलाई अन्ततोगत्वा अधोगतिमा लैजाने निश्चितप्रायः देखिन्छ । मैले नगरे कसले गर्ने भावना दलका नेताहरुमा नपलाएसम्म मुलुक सधैं अस्थिरतामा धकेलिने भएकाले त्यसतर्फ ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्