मेयरद्वारा फोहोर विसर्जन गर्न संघीय सरकारसँग हारगुहार

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पासाङ ल्हामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरवाह भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्घन्ध फैलिएर थप समस्या हुन सक्छ’, प्रमुख शाक्यले भन्नुभयो– ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’

उहाँले ०७० सालदेखि शुरू गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराउनुभयो । उहाँले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिँदा गाली काठमाडौं महानगरपालिकाले खानुपरेको पनि बताउनुभयो । ‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ’, प्रमुख शाक्यले भन्नुभयो– ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौं । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौं ।’

शाक्यले बन्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताउनुभयो । ‘फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहोर–मैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक भएकोमा शाक्यको जोड थियो ।

काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि आइतबारबाट फोहोर विसर्जनका लागि अवरोध भएको जानकारी दिनुभयो । ‘हिजोबाट उपत्यकाको फोहोर विसर्जनको काममा अवरोध भएको छ’, उहाँले भन्नुभयो– ‘मुड्खु–तीनपिप्ले सडक खण्डमा स्थानीयले सडकमा अवरोध गरेपछि फोहोर विसर्जनमा अवरोध भएको हो ।’

उहाँले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिवद्धता उहाँहरूबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहोर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिनुभयो । ‘सडक निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाको होइन,’ उहाँले भन्नुभयो– ‘तर फोहोर विसर्जनका लागि सहज वातावरण निर्माणका लागि हामीले सक्दो प्रयास गरिरहेका छौं । स्थानीयले पनि सडक बन्ने प्रतिबद्धता व्यक्त भए भए अवरोध नगर्ने भन्नुभएको छ ।’