गाउँपालिकाका दुई अध्यक्ष एमालेमा प्रवेश

0
Shares

बुटवल, (नेस) ।

रूपन्देहीमा जसपा र माओवादी केन्द्रका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमालेमा प्रवेश गरेका हुन् । रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, ओमसतियाका अध्यक्ष केवट नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जिल्लाको एक्लो अध्यक्ष हुन् । उहाँहरूसँगै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गर्नु भएको छ ।

ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मालगायतका नेताले पार्टीमा प्रवेश गराउनुभएको हो ।