नेताभन्दा अन्य मानिसको स्वार्थीपन र सानो सोच



  • रमेशकेशरी वैद्य

अहिले देशको परिस्थितिलाई हेर्दा यहाँ सडक, जलविद्युत्, उद्योग आदिको द्रुत विकास हुन सकिराखेको छैन । आम नागरिकका लागि सस्तो शिक्षा, गाँस, बासका समस्याहरु पनि यथावत् नै छन् । हुन पनि यस्ता समस्याका समाधान कसरी हुन् ? फितलो नेतृत्व र फितलै कानुन अनि सधैँ राजनीतिक कलह । वास्तवमा मुलुक राम्रो हुन नेता, प्रशासन साथै समाजको सोच परिवर्तन हुन जरुरी छ । कारण यो देशमा हरेक पक्षका आ–आफ्नै कमजोरी छन् । तैपनि यहाँ एक–अर्कालाई दोषारोपण गर्नमै समय गुज्रिराखेको छ । अब यस्तो हुनुभएन । सबै पक्ष मुलुक राम्रो बन्नको लागि परिवर्तन हुनु जरुरी छ । अनि मात्र मुलुकमा द्रुत विकासको सम्भव छ ।

यो देशको विडम्बना नै शिक्षा र अनुभवको कमी, चाकडी प्रथा, ढिडपना र धेरै अल्लड मानिसहरुको जमात आदि हुन् । यी कारणहरुले गर्दा समाजले पाउनुपर्ने आफ्नो हकहितका कुराहरु पाइराखेका छैनन् । यस्तो बेला नेताहरुले संघर्ष गरेर ल्याएको लोकतन्त्र, संविधान, संघीयताले पनि राम्रो उपलब्धि दिइराखेको छैन, जुन हामीले भोगिराखेका छौं । के काम लाग्यो त नेताहरुले यी सब कुरा ल्याएको यो मुुलुकमा ? अहिले हाम्रो देशमा उद्योगका साथै राजमार्गहरुको द्रुत विकास हुनु एकदम जरुरी छ । जबसम्म यी कुराहरुमा विकास हुँदैन तबसम्म दुर्घटना भई नै रहन्छ । व्यवसायमा अवरोध तथा पर्यटन क्षेत्र आदिमा विकास हुनुमा गाह्रो हुनु स्वाभाविक हो । सधैँ सडकमा हुने दुर्घटनाले पनि अझै सरकारको ध्यान त्यता तानेको छैन । मुलुकमा लोकतन्त्र प्राप्तिपश्चात् एक हिसाबले केही उद्योग र सडकको विकास नभएको पनि होइन । तर राजधानी र अन्य शहरहरुका खाल्डाखुल्डीका समस्या सधैँ यथावत् छन् । यसै गरी राजमार्गहरुमा पनि खाल्डाखुल्डी, पुल, बाँध, तुइन आदिका समस्याले गर्दा अझै पनि राजमार्गको पूरा विकास भएको मान्न सकिन्न । त्यसमाथि पहाडी भागहरुमा अधिकांश सडक पिच हुन बाँकी नै छ । यस्ता कुराहरुमा राज्य किन खर्च गर्न कन्जुसी गर्छ ?

यी कुराहरु बन्न त्यति असम्भव पनि होइन, तैपनि देशमा रहेका सरकार, नेता, बुद्धिजीवी, प्रशासन आदि सुतेर बसिराखेका छन् । यसतर्फ सबै पक्ष गम्भीर हुनु जरुरी छ । अनि मात्र जलविद्युत्, उद्योग व्यवसाय, पर्यटन क्षेत्रका विकासहरु द्रुत गतिमा हुनेछन् । यी सब कुराहरु हुनु नै लगानीकर्ताहरुका लागि सुवर्ण अवसर हुनेछ । लगानीकर्ताहरु जब यी क्षेत्रहरुमा रुखका हाँगाजस्तो फैलिन्छन् तब मुलुकको द्रुत विकास आफैँ हुने हो । तर यस्तो बेला सरकारले यिनीहरुको मनोबल गिराउनुहुँदैन । यिनीहरुलाई भरपूर सहुलियत, सुविधा, सेक्युरिटी दिनुपर्छ । अनि मात्र यो मुलुक विदेशझैँ हुनेछ । तर सरकार उद्योगी, व्यवसायीहरुलाई प्रशासनिक झमेला, कर आदिले मनोबल गिराइराखेका हुन्छन् । थाहा छैन, यो देशमा देश चलाउनेहरुको कुन रुप हो यो ? कुरा एउटा हुन्छ, व्यवहारमा अर्कै हुन्छ । यिनीहरुको राजनीतिक गुटबन्दी, स्वार्थ आदिले गर्दा यस्ता क्षेत्रमा ध्यान नै जाँदैन अर्थात् कलहमा नै दिन बितिराखेको हुन्छ ।

अहिले देशमा बढ्दो सवारीसाधन, ट्राफिक जाम र दुर्घटना हुने गरेकाले सम्बन्धित निकायसहित समाजको दायित्व बन्छ कि यसलाई कसरी कम गर्ने । सर्वप्रथम त सम्बन्धित निकायले पुराना गाडीहरुलाई निर्मूल पार्ने हो, तर यस्ता पुराना गाडीहरु चली नै राखेको देखिन्छ । यसले सर्वसाधारणलाई असर गरिराखेको देखिन्छ । त्यसकारण हामीलाई लाग्छ कि यो देशमा कानुन नै छैन । यति मात्र होइन, पार्क तथा सडकमा मलमूत्र त्याग गर्ने, बदाम बेच्ने, सुन्तला, केरा खाएर बोक्रा जथाभावी फाल्नेलाई जरिबाना हुँदैन । यहाँसम्म कि ठग मेन्टालिटीको पनि विकास भएको छ यहाँ । हाम्रो मुलुकमा राजधानी होस् या अन्य शहर होस्, ठाउँ सानो छ तर सवारीसाधन धेरै छन् । यस्तो बखत आवश्यक कामबाहेक सवारीसाधन प्रयोग नगर्दा राम्रो हुन्छ, सिवाय साइकल । यसो गर्दा ट्राफिक जाम कम हुन्छ, प्रदूषण कम हुन्छ । हिँड्ने बानीले स्वास्थ्य राम्रो हुन्छ । यो भन्दा पनि महत्वपूर्ण कुरा, सरकारले धेरै सवारीसाधनको आयातमा नियन्त्रण गर्नु जरुरी छ । मुलुकलाई द्रुत विकासमा कसरी लैजाने त ? यहाँ केही बुँदा प्रस्तुत गरेको छु ।

१. सर्वप्रथम देशको कानुन दह्रो हुनु जरुरी छ । सधैँ आलु कानुन भयो भने भ्रष्टाचार र अपराध सक्रिय भइराखेको हुन्छ, जुन हुनु द्रुत विकासका लागि बाधक हो ।

२. लोकतन्त्र ल्याउने पुराना नेताहरुले राजनीतिबाट संन्यास लिँदा राम्रो हुन्छ । तर नेताहरु कानमा खतरा तेल हालेर बसेका छन् ।

३. मिडियाहरुले सधैँ नेताहरुलाई आवश्यकताभन्दा बढी हाइलाइट गर्नुहुँदैन । यसको बदला समाजलाई चाहिने कुराहरुको लागि निरन्तर आवाज उठाइराख्नुपर्छ ।

४. हामीले सधैँ विदेशीहरुको मुख ताक्ने होइन । आर्थिक सहायताको लागि र्याल चुहाउने होइन । विज्ञहरु अगाडि राखी कूटनीतिक हिसाबले विदेशीहरुसँग मेलमिलाप बढाइराख्ने हो, ताकि हाम्रो मुलुकमा कहिल्यै टेन्सन नहोस् । यस्ता कुराहरुमा बुद्धिजीवीहरुले सरकारलाई प्रेसर दिनुपर्छ ।

५. देशमा अर्बौं–खर्बौ रकम हुँदा सरकारले यो रकम खेलाउन जान्नुपर्दछ । यसका लागि सोच र मन ठूलो गरी सरकारले कृषि, उद्योग व्यवसायीहरुलाई लगानीको वातावरण बनाइदिने हो । सरकार यसको लागि परिवर्तन हुनै पर्दछ ।

६. मुलुकमा भएको राष्ट्र–धनको चुहावट हुनुहुँदैन । मन्त्री, सांसद, सचिव, नेताहरुको संख्या कम गर्नुपर्दछ । यसबाहेक सरकारले बेरुजु रकम कम गर्ने, सरकारी भत्ता, औषधि उपचार, सवारी खर्च आदिमा नियन्त्रण गर्नुपर्दछ । यो हुनु नै आर्थिक विकास हो ।

७. राजनीतिक कलहको अन्त्य गरी द्रुत विकासका लागि विज्ञहरुसँग निरन्तर परामर्श लिइराख्नुपर्छ ।

८. एकपल्ट फेरि भन्नुपर्दा नेता, सरकार, प्रशासकहरुको सोच बदल्नु नै पर्दछ अनि मात्र देशको द्रुत विकास सम्भव छ ।

अन्त्यमा हामीले यी कुराहरुमा ध्यान दिनुपर्छ– हाम्रो जीवन अस्थायी हो, त्यसैले धेरै सम्पत्तिको चाहना गर्ने होइन । एक–अर्कालाई दोष दिने पनि होइन, सबै पक्ष इमानदार भएर बदलिनुपर्छ । मुख्य कुरा नेतालाई मात्र दोष दिने होइन, हाम्रो सोच पनि सानो हुनुभएन ।

प्रतिक्रिया दिनुहोस्