सर्वदलीय बैठक : एमसीसीमा विमति, संसद् खुलाउने सहमति

0
Shares

काठमाडौं, (नेस) ।

प्रतिनिधिसभामा जारी अवरोध हटाउने र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बारेमा साझा धारणा बनाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याउन पहल गर्ने निर्णय गर्दैै सोमबार बसेको सर्वदलीय बैठक टुंगिएको हो ।

सरकारले एमसीसी संसद्मा टेबल गर्ने तयारी गरेपछि दलहरूबीच साझा धारणा बनाउन सभामुखले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाउनुभएको थियो । एमालेले भने उक्त बैठक बहिष्कार गरेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको बैठक पनि एमालेले बहिष्कार गरेको थियो । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि सूचना टाँस गरेर कारबाही नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर रूपमा संसद् अवरुद्ध गर्दै आएको छ ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भएको थियो । तर प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावका कारण सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी पुनः बढेको छ ।

बैठकबारे जानकारी गराउँदै सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालन गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताउनुभयो । उहाँले बैठक कुनै निष्कर्षमा नपुगेको तर आगामी दिनमा पहल गर्नका लागि सबैलाई ऊर्जा मिलेको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीबारे भने बैठक कुनै टुंगोमा नपुगेको र कार्यव्यवस्थामा थप छलफल गर्ने सहमति भएको बताउनुभयो ।