कोरोनामा व्यायाम



कोभिड महामारीको शिकार व्यक्तिहरु उपचारपछि स्वस्थ भएपनि उनीहरुको मुटु–कलेजो पहिलाजस्तै सबल नभएको अनुभव बिरामीहरुको छ ।

लामो समयको आइसोलेसन, क्वारेन्टिन वा घर बसाइपछि काममा फर्किएका कर्मचारी, स्कुल जानथालेका विद्यार्थी र व्यवसायलाई निरन्तरता दिने अन्य व्यक्तिमा स्फुर्तिमा कमी र आलश्यतामा वृद्धि भएको गुनासो छ । कोभिड र कोभिड पछिको अनुगमनमा सक्रिय भौतिक चिकित्सकहरुको भनाइमा कोभिड निको भएकाहरुलाई आकस्मिक परिश्रमले मुटु–फोक्सोजस्ता अङ्गमा अपूरणीय समस्या ल्याउनसक्छ । धेरै बिरामीमा रगत जम्ने, स्वास–प्रस्वासमा कठिनाइ, थकानको अनुभूतिआदि समस्या देखिएको बताइन्छ ।

कोरोना संक्रमित बिरामीहरु पिसिआर परीक्षणको परिणाम नेगेटिभ आएपछि तत्कालै पूर्ववत् दैनिकीमा फर्किने र पूर्णतः सामान्य जीवन जिउने अभ्यास गर्दछन्, जुन ठीक होइन भन्ने सुझाव चिकित्सकहरुको छ । योगा, प्राणायाम, भौतिक व्यायाम वा फिजिओथेरापी गर्दै पूर्णतः पूर्वअवस्थामा आउनसकिने बाटो भने चिकित्सकहरुले देखाएका छन् । कोरोना परीक्षणको परिणाम नेगेटिभ आउनासाथ कोभिड पहिलेको स्थितिमा गरिराखिएको काम, व्यायाम, खेल वा कुनै पनि अभ्यासमा तुरुन्तै फर्किहाल्दा घातक परिणाम आउनसक्ने खतराका विषयमा व्यापक प्रचार–प्रसार छैन । बिस्तारै, कम गतिमा, स्थिर रहेर विज्ञहरूको निगरानी र सल्लाहमा काममा फर्किन सकियो भने राम्रो हुने फिजिओथेराफिस्टहरु सुझाव दिन्छन् ।

कोभिड नेगेटिभ भएर पनि बिरामीले भोग्ने समस्याहरुमा मांशपेशिमा दुखाइ, अधिक थकान, नसा बाउँडिने, श्वासप्रस्वासमा कठिनाइ, पहिलेको गतिमा काम गर्न नसकिने आदि प्रमुख छन् । यस्ता समस्याहरुको निदान र उपचार गर्न शारीरिक मजबुति, विशेषगरी फोक्सोको मजबुतिको लागि र जटिल अवस्था हुँदै निको भएकाहरुका लागि पुनःस्थापना सेवामार्फत पूर्व अवस्थाको स्वास्थ्य स्थितिमा फर्काउन भौतिक चिकित्सकहरूको महत्वपूर्ण भूमिका रहन्छ । चेस्ट फिजियोथेरापी, स्वास–प्रश्वासका विधि, आसन, मांस सवलीकरण व्यायाम आदिद्वारा बिरामीहरूको स्वास्थ्यमा सुधार ल्याउन सकिएको छ, अन्य स्वास्थ्य कठिनाइहरु पनि रोकिएको चिकित्सकहरुको अनुभव छ ।

हाडजोर्नी तथा खेलकुद विभागमा कार्यरत हाडजोर्नी तथा खेलकुद विषेशज्ञ भौतिक चिकित्सकहरुका अनुसार बिमारीपन र कामको अवस्थाका साथसाथै कार्य स्थलमा हुनसक्ने चोटको जोखिमलाई विश्लेषण गरी भौतिक चिकित्सकहरूको निगरानीमा रहेका बिरामीहरु र खेलाडीहरूको स्वास्थ्यको परिणाम सुखद देखिन्छ । नेपाल फिजियोथेरापी संघको अनुभवमा कोभिडपछिको अस्वस्थता र समस्याहरू कम गर्न वा निर्मूल पार्न केही अस्पतालहरुमा फिजिओथेरापी एकाइ नै खडा गरेर सेवामा जोड नदिइएको पनि होइन, तर यो सेवा केही क्षेत्रहरुमा र केही ठूला अस्पतालहरुमा मात्र सीमित छ ।

कोभिडको कारणले उत्पन्न गराउने अन्य समस्याहरूको लागि फिजिओथेरापी सेवा र यसको महत्व बारेको जानकारी तल्लो तहका जनतासम्म पु¥याउनु आवश्यक देखिन्छ । यस कार्यको पहल नभएको पनि होइन । नेपाल फिजियोथेरापी एसोसिएसन र भौतिक चिकित्सकहरुले आ–आफ्नो ठाउँबाट सक्दो पहल गरेको तर सरकारी तहबाट जुन पहल हुनुपर्ने हो त्यो नभएको अवस्था छ । यस विषयमा भौतिक चिकित्सकहरुले सरकारलाई निरन्तर ध्यानाकर्षण गर्ने र सहयोग माग्ने काम गरेको तर सुनुवाइ नभएको अवस्था छ । राष्ट्र नै नागरिक भएको सत्यलाई मनन गर्दै नागरिकलाई स्वस्थ राख्न राज्यले फिजिओथेरापीलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्