सशस्त्रका एआईजी पुष्पराम केसीमाथि कारवाहीको तयारी 

0
Shares

काठमाडौं । 

चेनअफ कमाण्डमा सञ्चालन हुनुपर्ने सुरक्षा संगठनमा पछिल्लो समय आफूखुसी गर्ने प्रवृत्ति बढ्दै गएको छ । जसका कारण संगठनभित्र अराजकता मौलाउँदो अवस्थामा छ भने संगठन कमजोर हुँदै गएको छ । पछिल्लो समय सुरक्षा संगठनहरुमा संगठनको विकास भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थका लागि सुरक्षा संगठनका उच्च अधिकारीहरूले संगठनको मान मर्दन गर्दा राज्यको सुरक्षा अवस्था समेत विग्रदो अवस्थामा पुगेको छ ।

सन्दर्भ सशस्त्र प्रहरी बलमा पछिल्लो समय नेतृत्वलाई बेवास्ता गरेर आफ्नो स्वार्थमा लाग्ने समूहहरुको जमात सक्रिय हुन थालेको छ । सशस्त्र प्रहरी वलका महानिरीक्षक शैलेन्द्र खनाल नसा सम्बन्धी रोगका कारण उपचारकालागि भारत गएको विषयलाई सोही संगठनका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले विभिन्न मिडियामा आइजिपी विरुद्ध अनर्गल प्रचार गर्न मात्र लगाएनन्, संगठन भित्रको मर्यादालाई समेत भुलेर हिँड्ने गरेको पाइएको छ ।

विगत ४ वर्षदेखि नै संगठनबिरुद्ध  लागेका एआईजी केसी संगठन भित्रका गोप्य दस्ताबेज भारतीय दूतावासमा बुझाउने गरेको , आइजिपी विरुद्ध विभिन्न मिडियालाई प्रयोग गरेर संगठनको बदनाम गराएको आरोप लागेका  एआईजी केसी भारतमा उपचार गराएर स्वदेश फर्केका आइजिपीलाई स्वागत समेत गर्न नगएपछि उनको तीव्र आलोचना भएको छ ।

संगठन प्रमुख औपचारिक वा अनौपचारिक रूपमा विदेश भ्रमणमा जाँदा बिदाइ गर्ने र स्वदेश फर्कँदा स्वागत गर्न संगठनका दोस्रो बरियतामा रहेका एआईजी वा सो सरहको पद धारण गरेका व्यक्ति जाने  परम्परा रहेको छ । तर एआईजी केसी आइजिपी खनाल स्वदेश फर्कँदा स्वागत गर्न नआएपछि गृह मन्त्रालयले समेत चासो व्यक्त गरेको छ ।

एआईजी केसीले बिरामी भएर विदेश उपचार गर्न गएका आफ्नै आइजिपीका विरुद्ध विभिन्न मिडियामा उपचारको बहानामा घुम्न गएको जस्ता गैर जिम्मेवार सूचना दिएर संगठनको बदनाम गराउने काम गरेको भन्दै गृह मन्त्रालयले समेत उनको बारेमा आन्तरिक रूपमा छानबिन शुरु गरेको छ ।

आगामी चैत २८ गते ४ वर्षे सेवा अवधिपछि अनिवार्य अवकाशमा जान लाग्नु भएका आइजिपी खनालपछि १९ दिनको लागि एआईजी केसी आइजिपी बन्न दौडधुप गरिरहेको बेला मन्त्रालयले भने आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर उनको विकल्पमा अर्का व्यक्तिलाई आइजिपी बनाउने बारेमा समेत छलफल भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विगतको ४ वर्षमा केसीले संगठनको विकास भन्दा पनि संगठन विरुद्ध विभिन्न काममा संलग्न रहेको भन्दै मन्त्रालयले एआईजीको एउटा फाजिल दरबन्दी सिर्जना गरेर उनी पछिका डिआइजी मध्येबाट एआईजी बनाउने र उनलाई बिदाइ गर्ने तयारी गरिरहेको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।