एउटै भवनको शिलान्यास दुई स्थानबाट

0
Shares

काठमाडौं, (नेस) ।

तेह्रथुमको आठराइ गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको नयाँ भवन शिलान्यास काठमाडौं तथा आठराइ दुवै स्थानबाट भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास काठमाडौंदेखि भच्र्युअल माध्यमबाट गर्र्नुभयो भने उक्त कार्यक्रमा भौतिक रूपमा उपस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाले प्रत्यक्ष रूपमा गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ओलीले आफ्नो जन्मस्थानमा स्थापना भएको यस शिक्षालयलले प्राविधिक शिक्षाको विकासका लागि एउटा महत्वपूर्ण शैक्षिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि आफू प्रधानमन्त्री भएकै समयमा प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउने लक्ष्यका साथ शिक्षालयको स्थापनाका लागि अध्यक्ष ओलीले आफ्नो निजी तीस रोपनी जग्गा प्रदान गर्नुभएको थियो ।

‘हामीले यसै पालिकाको वडा नं ४ कै विभिन्न सरकारी जग्गामा बनेका टहरामा हाल शैक्षिक कार्यक्रम अगाडि बढाइरहेका छौं यसैले शिक्षालयका लागि भवनको सबभन्दा महत्वपूर्ण आवश्यकता छ’ –शिक्षालयका कर्मचारी सौरभ भट्टराईले भन्नुभयो । यसैले छात्रावाससहितको पूर्वाधार विकास गर्न सके एक नम्बर प्रदेशका धेरै विद्यार्थीलाई समेट्ने कुरा उहाँले बताउनुभयो । यसैक्रममा शिक्षालयका प्रधानाध्यापक शिव पाण्डेले यस शिक्षालयले प्राविधिक शिक्षाका क्षेत्रमा पूर्व क्षेत्रमै नमुना शिक्षालय निर्माण गर्ने अभियानका साथ अगाडि बढिरहेको बताउनुभयो ।

केपी ओली ट्रस्टअन्तर्गत चार करोड असी लाख लागतमा बन्ने उक्त भवन दुई तले र १८ कोठाको बन्नेछ । जसमा शैक्षिक क्रियाकलाप सञ्चालन हुनेछन् । दोस्रो शैक्षिक वर्ष सञ्चालनमा रहेको यस शिक्षालयले हाल हरेक शैक्षिक वर्षमा बाली विज्ञानमा ४० तथा पशुविज्ञानमा ४० जना विद्यार्थी कोटामा अध्यापन गराइरहेको छ । यहाँ पूर्वका ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुरलगायतका विद्यार्थी अध्ययन गरिरहेका छन् ।