ललितपुर– ३ वडाबाट प्रभावित भए मन्त्री खतिवडा


न्युज अफ नेपाल, ललितपुर ।

करिब १० हजार मानिसको स्वास्थ्य परीक्षण निःशुल्क गराउने उद्देश्यले ललितपुर महानगरपालिका– ३ वडाले प्याथलोजी ल्याब सञ्चालनमा ल्याएको छ । वडाको आफ्नै बजेटबाट ठाडो ढुंगामा सोल्याब खोलिएको हो ।

ल्याबबाट निःशुल्क स्वास्थ्य सेवा दिन शनिवार परिचयपत्र वितरण कार्य सुरु गरिएको थियो। परिचय पत्र वितरण कार्यक्रमको शुभारम्भ गर्न आउनुभएका स्वास्थ्य मन्त्री विरोध खतिवडा सो कार्य देखेर निकै दंग हुनुभयो। यो काम गर्ने हो भने, काम गर्न जान्ने हो भने,‘आइडिया’ निकाल्ने हो भने एउटा वडाले पनि स–साना कामबाट सर्वसाधारण नागरिकको जीवनसँग ठुलो महत्त्व राख्ने काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो । यसबाट म निकै प्रभावित भएँ ।’ मन्त्री खतिवडाले भन्नुभयो ।

यति भनेर मात्र मन्त्री खतिवडा रोकिनुभएन । आफू जन्मिएको हेटौँडा नगरपालिकाका विभिन्न वडामा पनि यही सोच अनुरूप कार्य गर्न त्यहाँका मेयर र उपमेयरलाई बोलाएर आग्रह गर्ने समेत मन्त्री खतिवडाले सार्वजनिक रूपमा नै बोल्नुभयो । सरकारले देशभरका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार निःशुल्क गराउन यस्तै कार्यको तयारी स्वास्थ्य मन्त्रालयले भित्री रुपमा गरिरहेको बेला वडाको काम थप सिक्ने मौका पाएको पनि मन्त्री खतिवडाको भनाई रहेको छ ।
मन्त्रालयले पनि ५० वर्ष भन्दा माथिका नागरिकलाई परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । विभिन्न अस्पतालमा सोही परिचयपत्र देखाएर निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गर्न सक्ने छ । त्यसको रकम भने सरकारले सम्बन्धित अस्पताललाई दिइने छ ।

यो कार्यक्रम शुभारम्भ गर्न खोजिरहेको बेला वडाले एक कदम अगाडि बढेर प्रत्येक वडावासीलाई स्वास्थ्य सेवा पहुँच स्थापित गर्ने काम गरेको छ । यसले मलाई सिक्ने, बुझ्ने अवसर मिलेको छ ।’सो अवसरमा मन्त्री खतिवडाले नमुनाको रूपमा ज्येष्ठ नागरिक, अपाङ्गता, महिला, र पुरुष गरी १० जनालाई परिचय पत्र वितरण गर्नुभयो। वडामा १० हजार स्थायी बासिन्दा रहेको अनुमान गर्दै प्रत्येकलाई क्रमशः परिचय पत्र वितरण गर्दै जाने वडाले जनाएको छ। स्वास्थ्यको लागि स्वास्थ्य परीक्षण गरौँ भन्ने नाराका साथ प्याथलोजी ल्याब सञ्चालन गरिएको वडा अध्यक्ष  श्रीगोपाल महर्जनले बताउनुभयो।

स्वास्थ्यमा सबै नागरिकको समान, सहज पहुँच स्थापित भएमा मात्र संविधानको प्रस्तावनामा उल्लेखित ‘ समाजवाद उन्मुख ’ शब्द ठोस अर्थ जनताले बुझ्ने छ।कमसेकम वर्षको एकचोटी भए पनि स्वास्थ्य परीक्षण गराउने बानी बसोस् ।’ वडा अध्यक्ष महर्जनले भन्नुभयो । वडा अध्यक्ष महर्जनका अनुसार सो ल्याबबाट वडाका स्थायी बासिन्दाले वर्षको एकचोटी स्वास्थ्य सम्बन्धी १२ प्रकारका परीक्षण निःशुल्क रूपमा गर्न पाउने छ ।

अरू बेला टेकुको सरकारी अस्पतालको दर बमोजिम निकै सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्न सक्ने पनि वडा कार्यालयले जनाएको छ । ल्याबमा डा. कृष्णगोपाल महर्जन, डा. शैलेन्द्र महर्जन, डा. टेकेन्द्र कार्की र प्रा.डा केशव पराजुलीले स्वास्थ्य परीक्षणमा गर्नेछ । वडामा सञ्चालित मातृ शिशु स्वास्थ्य क्लिनिकमा प्रविधि थप गरेर ल्याब सञ्चालन गरिएको बताउँदै वडा स्वास्थ्य क्लिनिकका अध्यक्ष एवं वडा सदस्य मिलन महर्जनले भन्नुभयो ‘ अब यहाँका जनताले सामान्य रोगको परीक्षण गर्न पनि अस्पताल धाउनु पर्दैन ।’ ल्याबको लागि पनि वडाले छुट्टै भवन बनाउने कार्यको सुरु गरिसकेको छ ।