पहिचानका विभिन्न आयामहरु



  • गंगासागर पन्त

पहिचान सबैलाई चाहिने प्रिय विषय हो । प्रारम्भमा साधारण परिचय पनि पहिचान हो । अन्त्यमा सामाजिक मानमर्यादा र प्रतिष्ठा पनि पहिचानको उच्च स्वरुप हो । म हजुरलाई चिन्छु भन्नु र चिन्दिन भन्नुमा आकाश–जमिनको फरक फर्छ । कसैको आवाज सुनिदिनु र नसुनिदिनुमा धेरै अन्तर पर्छ । परिचितको आवाज सुनिन सक्छ भने अपरिचितको आवाज नसुनिन सक्छ । यो संसार समग्रमा अस्तित्वको लडाइँ हो । पहिचानको खोजी अन्ततः अस्तित्वको लागि नै हो । नाम, थर, वंशज, जाति, संस्कृति, परम्परा, ठाउँ, काम, सामाजिक तथा आर्थिक अवस्था आदि सबै पहिचानका आयामहरु हुन् । यस्ता विभिन्न आयामहरुलाई केलाएर हेरौँ ।

वर्गीय पहिचान :
आर्थिक (धनी–गरिब), राजनीतिक (शासक र शासित), लिंगीय (नारी, पुरुष, तेस्रो लिंगी), क्षमता (सबल, निर्बल वा सपाङ्ग, अपाङ्ग) आदि वर्गीय पहिचान हुन् । जापानिज, अमेरिकन, सिंगापुरे आदि भनेपछि हामी नेपालीले उनीहरुको एउटा पहिचान दिन्छौँ– धनी । उनीहरुले पनि नेपाली भनेपछि त्यस्तै पहिचान दिन्छन्– गरिब । यो आर्थिक आयाम हो । तर यो वर्गीकरण पूरा सत्य होइन । कतिपय नेपाली जपानिज र अमेरिकनभन्दा धनी पनि छन् । तर व्यक्तिको पहिचानभन्दा राज्यको पहिचान सधैँ माथि रहन्छ । अमेरिकाको सडकछाप आए पनि नेपालमा किन सम्मान पाउँछ ? किनभने ऊसँग उसको सम्पन्न र शसक्त राज्यको पहिचान सँगै आउँछ ।

नेपालभित्रको परिवेश हेर्दा बाहुन भनेपछि शिक्षित र धनी वर्गमा अनि दलित भनेपछि गरिब र अशिक्षित वर्गमा सोच्ने मात्र हैन, राज्यले नै त्यसरी नियमन गरिरहेको छ, खासगरी गणतन्त्र आएपछि । तर यो सोच असत्य हो र राज्यको त्यस्तो व्यवहार अन्यायपूर्ण र अपराधपूर्ण हो । फेरि राजेन्द्र लिङ्देनलाई उद्धृ्रत गर्दा धनाढ्य सुनारको पसलमा काम गर्ने गरिब बाहुनको छोरोलाई कसरी न्याय गर्छ यस्तो अवैज्ञानिक वर्गीकरणले ? हो, माथि भनेजस्तो जसरी राज्यको पहिचानको अगाडि व्यक्तिको पहिचान गौण बन्छ, त्यसै गरी जातीय पहिचानको अगाडि व्यक्तिको पहिचान गौण बन्न पुगेर करोडपति सुनारलाई आरक्षण अनि तन्नाम बाहुन बेवास्ता भइरहेको छ । त्यस्तै सबै शाह शासक र धनाढ्य हुँदैनन्, छैनन् । सबै अपाङ्ग गरिब र अक्षम पनि छैनन् । सबै महिला पीडित र कमजोर छैनन् । त्यसैले राज्यले वर्ग हेरेर मात्र सुख पाउँदैन, व्यक्ति पनि हेर्नुपर्छ । हरेक नागरिकको व्यक्तिगत पहिचानका सबै आयामहरुबारे खबर राख्नुपर्छ र तदनुसार प्रत्येक नागरिकको हक सुरक्षित गर्न सक्नुपर्छ ।

भूराजनीतिक पहिचान :
यो पहिचानको प्रेम र लगाव सापेक्षिक हुन्छ । महादेशीय सापेक्षतामा म अमेरिकन, युरोपियन वा अन्य महादेशीय हुनै मान्दिन, एसियाली हुँ । राष्ट्रिय सापेक्षतामा म भारतीय वा चाइनिज वा अन्य होइन, नेपाली हुँ । नेपालभित्र पनि म गण्डकी प्रदेशको गोरखाली हुँ । यो मेरो भूराजनीतिक पहिचान हो । गणतन्त्र आएपछि मेरो एउटा स्थापित भूराजनीतिक पहिचान गुम्यो, जुन मलाई प्रिय थियो, मेरो नागरिकतामा छँदै छ अझै– ताङ्लिचोक गाविस वा.न. १ ।

भूराजनीतिक पहिचानलाई खासगरी शासकहरुले सर्वोच्च महत्व दिन्छन्, आफ्नो प्रभुत्व रक्षाका लागि । धेरै पुराना शासकीय अभ्यास भएको पूर्वीय हिन्दु सभ्यतामा शासकहरुले धर्मभन्दा पनि आफ्नो देश ठूलो भन्ने मानसिकता विकसित गरिदिए जनतामा । शासकीय लालच बढ्दै जाँदा कतिपय राजा–महाराजाहरुले त शासक प्रथम, देश द्वितीय र धर्मलाई तृतीय स्थानमा राख्ने अभ्यास गरे । जे होस्, जोडिँदा, टुक्रिँदा, मिल्दा, नमिल्दा पुनः परिभाषित गर्दा, स्थानान्तरण गर्दा आदि विभिन्न कारणले मानिसको भूराजनीतिक पहिचान बदलिन सक्छ । तर, भूराजनीतिक पहिचान र भौगोलिक पहिचान फरक हो । भौगोलिक पहिचानमा राजनीति घुस्दैन । हिमाली, पहाडी, मधेसी, देहाती आदि पहिचान शुद्ध भूगोलको प्रकारले तत् क्षेत्रका बासिन्दालाई दिइएको पहिचान हो । पहिचानका अन्य आयामहरु थप्ने प्रतिस्पर्धाको क्रममा भौगोलिक पहिचानमाथि राजनीति गर्नचाहिँ सकिन्छ ।

पेसागत पहिचान :
हिमाल चढ्ने साहस र सफलताले शेर्पा जातिलाई विश्वमा शीर्ष पहिचान दिएको छ । नेपालका गुरुङ, मगर, राई लिम्बुहरुले नेपाल एकीकरणदेखि विश्वका विभिन्न युद्घमोर्चाहरुमा बहादुरी प्रदर्शन गरेर आफ्नो जात बडा साहसी, निडर, इमानदार लडाकू भएको पहिचान विश्वलाई दिएका छन् । अवसर पाएमा वैज्ञानिक एवं कुशल प्रसाशक पनि बन्छन् भन्ने कुरा आजका डा. सन्दुक रुइत, डा. महावीर पुन, कुलमान घिसिङहरुले देखाइरहेका छन् । पर्याप्त शास्त्र अध्ययन गरियो भने तगाधारीइतरका पनि प्रखर ब्राह्मण बन्छन् भन्ने कुरा डा. जगमान गुरुङहरुले देखाइरहेका छन् । यी सबै कामले कमाएको पहिचान हुन् । राम्रो र धेरैको जीवनमा सकारात्मक प्रभाव पार्ने काम गर्ने मान्छेको महत्व बढ्छ । त्यस्ता मान्छे धेरैका लागि आवश्यक बन्छन् । ब्राह्मण, क्षत्री, वैश्य र शुद्र खासमा जातीय नभएर पेसागत विभाजन रहेको इतिहासले बताउँछ ।

हिन्दु सभ्यताको कुनै कालखण्डमा विकसित भएको राजनीतिक तथा सामाजिक कार्य व्यवस्थापनले सिर्जना गरेको पेसागत वर्ग विभाजन हो यो । वाल्मीकिलगायत कतिपय विद्वान् ऋषिमुनिहरु शुद्र भए तापनि कर्मले ब्राह्मणभन्दा माथि रहे । पुस्तौँसम्म सुनका गहना बनाउने बाहुनको सन्तान सुनार भनेर चिनिन सक्छ । पाठपूजा गरिरहे लोहारको सन्तति पनि पूजारी भनेर चिनिन्छ । तर राज्यको कुनै पनि उत्पादन क्षेत्रमा शून्यता वा अव्यवस्था नआओस् भनेर उत्पादन र सेवा सुनिश्चित गर्न तात्कालीन समयको राजनीतिक कौशलता मान्नुपर्छ । काम नराम्रो गर्दै जाँदा नराम्रो पहिचान पनि बन्दै जान्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेजस्तो नेपालमा राजनीतिक वर्गका अधिकांश नेतृत्वले चोर, डाँका, ठग, लुटाहाको पहिचान बनाएका छन् । कामले जात बदल्दैन तर जातीय पहिचानमाथि पहिचानका अन्य आयामहरु परिवर्तन गर्छ । राम्रो काम गर्दै जाँदा वर्ग बदलिन सक्छ । जस्तो कि गरिब वर्ग धनीमा, चोर वर्ग इमानदारमा, अशिक्षित वर्ग शिक्षितमा रुपान्तरण हुन सक्छन् । हामीले सुन्दै आएको किसान वर्ग, व्यापारी वर्ग, मजदुर वर्ग आदि यस्तै पेसागत वर्ग हुन्, जसभित्र उपवर्गहरु पनि खोज्न वा बनाउन सकिन्छ, वर्गीय राजनीति उचाल्दै जाँदा ।

जातीय पहिचान :
जातीय पहिचान जैविक अर्थात् आनुवांशिक गुणमा आधारित पहिचान हो । मानिस, जनावर, बोटबिरुवा सबैमा लागू हुने यो पहिचान प्रकृतिको सुन्दर देन पनि हो । बाबु, आमा वा नजिकका वंशजको बाहिरी तथा भित्री चरित्र बोकेर आउने जिनोमले जातीय पहिचान जोगाइरहेको हुन्छ । गुरुङ, मगर, राई, लिम्बु, थारु आदि जात भनेपछि गोलो अनुहार, थेप्चो नाक, बाक्लो कदजस्ता चरित्र बताउँछ । बाहुन–क्षत्री भनेपछि चुच्चो नाक, ठाडो अनुहार आदि । मगर, बाहुनजस्ता जातीय नामकरण बनावटी हो, जे पनि राख्न सकिन्थ्यो । आनुवांशिक समीकरणमा बदलाव नआएसम्म अर्थात् क्रस ब्रिडिङ नभएसम्म शारीरिक बनावट प्रथम र प्राकृतिक हो, त्यो त्यस्तै रहन्छ । जातीय पहिचानको परम्परा र आशक्तिलाई शिक्षा र विश्वव्यापीकरणले कमजोर पार्दै लगेको पाइन्छ ।

धर्मिक तथा सांस्कृतिक पहिचान :
व्यक्ति, समाज, राज्य हुँदै काल्पनिक स्वर्गसम्म जोड्ने यो पहिचान जति रोचक छ त्यति खतरनाक पनि छ । विश्वमा अन्य धार्मिक राज्यहरुको पहिचान हेर्दा ५७ वटा इस्लामिक राज्य, १०० भन्दा बढी क्रिश्चियन राज्य, ८ वटा बुद्धिष्ट राज्य भएको पाइन्छ । इतिहास र वर्तमानमा हिन्दु धर्म मान्ने नेपालीको संख्या हेर्दा नेपाल राष्ट्रको धार्मिक पहिचान हिन्दुराष्ट्र नै हो, यो पहिचान मेटाउने प्रयास भए पनि । हुन त हिन्दु शास्त्रले बताए अनुसार कुनै पनि मानव, वस्तु वा पदार्थले धारण गरेको प्राकृतिक शक्तिलाई उसको धर्म मान्ने हो भने धर्ममा कुनै विवाद नै हुनुहुँदैन । सूर्यले धारण गरेको शक्ति ताप र प्रकाश हो । सूर्य हुनुको प्राकृतिक कारण वा धर्म दिनहुँ प्रमाणित भइरहन्छ । त्यस्तै हावा, पानी, वृक्ष, पशुपक्षीले आ–आफ्ना प्राकृतिक धर्म दैनिक निभाइरहेका छन् । तर मानिस मात्रले काल्पनिक र अप्राकृतिक धर्मको अभ्यास गरिरहेको छ विश्वमा ।

पहिचान र प्रभुत्वको लालचमा फसेर विभिन्न धर्म, धर्मभित्र पनि उपधर्महरु सिर्जना गर्दै धार्मिक पहिचान खोज्ने बहानामा अप्राकृतिक र अधर्मी बन्दै छ मानिस । सांस्कृतिक पहिचान भनेको मूलतः धर्मकै चरित्रभित्र रहेर मानिने गतिविधि र पद्घति हुन् । एउटै धर्ममा रहेर पनि विभिन्न जातीय तथा सामाजिक नेतृत्वले आफ्ना अलग विधि र पद्घति विकास गर्न सक्छन् । जस्तो कि देवताको नाममा नेवारले अण्डा चढाउँदा, मगरले रक्सी चढाउँदा बाहुनले तिनै चीज देवताको लागि अछूत मान्छ । देवताकै बहानामा गुरुङ, मगरहरुले दोहोरी चुड्का, घाटुमा रम्नु अनि बाहुनहरु भजन–कीर्तनमा रम्नु सांस्कृतिक विविधता मात्र हो । यस्ता हजारौँ भिन्नता भए पनि सयौँ जातीय संस्कृति भएको हाम्रो जस्तो विशिष्ट राज्यको सांस्कृतिक पहिचान निकै रोचक र रंगीन छ, विश्वमै उत्कृष्ट छ । तर, आर्थिक तथा राजनीतिक शक्तिको पछि लागेर आज लाखौँ नेपालीले आफ्नो र आफ्ना पुर्खाको धार्मिक तथा सांस्कृतिक पहिचान मेट्दै गएका परिदृश्यहरु भइरहेका छन् ।

ऐतिहासिक पहिचान :
यो पहिचान व्यक्तिको उत्पति (वंश, गोत्र, स्थान) देखि लिएर राज्यको उत्पति र विकास सबैतिर जोडिन्छ । कसलाई कतिखेर कुन तहको पहिचान प्राथमिकतामा पर्छ, त्यसकै लागि अवाज उठाउँछ । जस्तो कि नेपालमा पृथ्वी जयन्तीले नेपाली भूराजनीतिक पहिचानको इतिहास देखाउँछ भने भानु जयन्तीले नेपाली राष्ट्रभाषाको भाषिक पहिचानको इतिहास देखाउँछ । यस्ता महत्वपूर्ण इतिहास बिर्संदै गएमा आफ्ना गहन पहिचानहरु पनि मेटिँदै जान्छन् । सबै गौरवशाली ऐतिहासिक पहिचानहरु बचाउँदै पहिचानका अन्य आयामहरु उठाउने प्रयास गर्नु हरेक राज्य र नागरिकको दायित्व हुन्छ ।

भाषिक पहिचान :
आफ्ना पुर्खाको अनि आफू जन्मदाको जिब्रो, त्यो भाषाको गुण र रस सबै चित्तमा, चरित्रमा र व्यवहारमा घुलिसकेको हुन्छ । त्यो मातृभाषा हुन्छ । भाषिक पहिचान बचाउन विभिन्न देशहरुमा विभिन्न आन्दोलन र युद्व भएका पनि छन् । भाषाको प्रतिष्ठा र शक्ति आर्थिक शक्तिको पछि–पछि दगुरेको परिदृश्य हाम्रो सामुन्नेछ । जस्तो कि नेपालमा अंग्रेजी भाषाको प्रतिष्ठा र महत्व । जे कुरा पनि जीवनोपयोगी र महत्वपूर्ण साबित भइसकेपछि त्यो महँगो मूल्यमा बिक्छ । अंग्रेजी भाषा त्यस्तै महँगोमा किनिरहेका छन् नेपाललगायत विश्वका गरिब मुलुकहरुले । टोफेल, स्याट, जीआरई, अईएलटीएस आदिका नाममा नेपालबाट मात्र अर्बौं रुपियाँ बेलायत र अमेरिका लैजान्छ अंग्रेजी भाषाले ।

विश्वमै आजसम्मको सबैभन्दा वैज्ञानिक र परिष्कृत भाषा संस्कृत भएर पनि आर्थिक, राजनीतिक तथा अन्य कारणहरुले यसको प्रतिष्ठा, प्रयोग र मूल्य ज्यादै न्यून छ । नेपाल सानो देश भए पनि करिब १२० भाषासहितको विविधतामा निकै धनी छ । जातिपिच्छे, गाउँपिच्छे विकसित भएका सबै मातृभाषाहरुको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो भने तत्–तत् मातृभाषीहरुको भाषिक पहिचानको अधिकार पनि हो ।

प्रतिक्रिया दिनुहोस्