‘थापाको राजनीतिक भविष्य समाप्त’

0
Shares

हेटौंडा, (नेस) ।

नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राप्रपाका निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापाको राजनीतिक भविष्य सकिएको भन्दै कटाक्ष गर्नुभएको छ । राप्रपाका तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मी जिम्बालाई बुधबार कांग्रेसमा प्रवेश गराउँदै उहाँले सो बताउनुभएको हो ।

थापा नयाँ दल खोल्ने तयारीमा रहेका बेला बानियाँले भन्नुभयो– ‘आफू केन्द्रित राजनीति गर्ने, म भए हुने, नभए नहुने भन्ने स्वार्थबाट ग्रसित मानसिकताले राजनीति चल्दैन ।’ उहाँले पार्टी केन्द्रीय अध्यक्षमा पराजित भएसँगै थापा अनावश्यक टीका–टिप्पणी गर्दै हिँडिरहेको आरोप लगाउनुभयो । जात र धर्मका नाममा गरिने राजनीतिको अब भविष्य नभएको भन्दै बानियाँले मानवतालाई केन्द्रविन्दु बनाएर राजनीति गर्न थापालाई सुझाउनुभयो ।

बकैया अध्यक्ष प्रत्यासी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । राष्ट्रिय प्रजातान्त्रिक महिला संघ केन्द्रीय सदस्यसमेत रहनुभएकी जिम्बासहित नवप्रवेशीलाई कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र वागमती प्रदेश सभापति बानियाँले स्वागत गर्दै सदस्यता प्रदान गर्नुभएको हो ।

कांग्रेस प्रवेश गरेसँगै नेतृ जिम्बाले आफू जनताको सेवाका लागि राजनीतिमा लागेको र सोहीअनुसार जिम्मेवारी दिन आग्रह गर्नुभयो । ‘उहाँले कार्यकर्ताको मतको सम्मान गर्न सक्नुभएन । त्यस कारण हामीले पार्टी छाडेका हौं’, उहाँले थापाबारे टिप्पणी गर्दै भन्नुभयो– ‘आफ्नो स्वार्थअनुसार थापा अगाडि बढ्न खोजेका कारण अब नेपालमा राप्रपाको भविष्य छैन ।’