चार महिनापछि खुल्यो सडक

जोखिम मोलेरै एकतर्फी सञ्चालनमा

0
Shares

इलाम ।

जोखिमका बीच मेची राजमार्ग सञ्चालन भएको छ । पहिरो झरेर चार महिनायता अवरुद्ध मेची राजमार्गको इलाम सदरमुकाम स्थित धोबीधारा–कुलधारा सडक खण्ड सोमबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

सो सडक खण्ड पूर्णरूपमा निर्माण भएर दुईतर्फी सवारी सञ्चालन हुन भने अझै दुई महिनाभन्दा बढी लाग्न सक्ने डिभिजन सडक कार्यालय इलामका प्रमुख विदुर पोख्रेलले बताउनुभयो । तत्कालका लागि एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सो सडक खण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा भने जोखिम रहेको छ । साना सवारीका लागि सहज भए पनि ठूला सवारीका लागि पहिरो झरेको भित्तो कोपरेर बाटो निकालेको र सानो बाटो भएकाले जोखिम भएको उहाँको भनाइ छ ।

कुलधाराबाट धोबीधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारीसाधन गुडाउन सक्ने भए पनि धोबीधाराबाट कुलधारापट्टि ओरालो कच्ची सडक रहेकाले राति केही जोखिम रहेको छ । एकतर्फी सवारीसाधन गुड्दा पनि इलाम बजारमा ४ महिनादेखि हुने गरेको सवारी जाम अब करिब अन्त्य भएको छ । गत असोज १६ गते बिहान वर्षा नै नभएका बेला यहाँको करिब २० मिटर मेची राजमार्ग ८० प्रतिशतभन्दा बढी झरेको थियो । बाँकी सडक पनि चर्किएर जोखिम भएपछि ४ महिनादेखि सवारी साधन बन्द थिए । गत कात्तिक १ र २ गते अविरल वर्षापछि आएको पहिरोले यो भाग पूरै चुँडिएपछि राजमार्ग थप क्षतिग्रस्त भएको थियो ।

मेची राजमार्ग चुँडिएपछि पाँचथर र ताप्लेजुङबाट झापा आऊ–जाऊ गर्ने सवारीसाधन बन्द थिए । वैकल्पिक मार्गका रूपमा इलामको जिरोकिलोमिटर–इलाम बजार–धोबीधारा सडक प्रयोग गरिएको थियो । तर, यो सडक साँघुरो भएकाले रातिमात्र मालवाहक सवारीसाधन चल्दै आएका थिए । सवारीसाधन रातिमात्र चलाउन मिल्ने भएपछि झापाबाट–पाँचथर–ताप्लेजुङ चल्ने मालवाहक अथवा ठूला सवारीसाधनलाई सास्ती भएको थियो । सो सडक खण्ड निर्माणका लागि चरणबद्धरूपमा ठेक्का लागेको छ ।

पहिलो चरणमा १ करोडको ठेक्का लगाइएकोमा हालसम्म ६५ प्रतिशत काम भएको छ भने दोस्रो चरणमा डेढ करोडको ठेक्का आव्हान गरेको प्रमुख पोख्रेलले बताउनुभयो ।