सङ्क्रमण दर घट्दा खुकुलो बन्दै आदेश

0
Shares

स्याङ्जा ।

तेस्रो लहरको कोराना संक्रमण स्याङ्जामा घट्दै छ । संक्रमणको दर घट्न थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको आदेशमा पनि खुकुलो बनाएको छ । एक महिनाको अन्तरालमा संक्रमण दर निकै घटेपछि प्रशासनले जारी गरेको स्मार्ट लकडाउनमा केही खुकुलो पारेको हो ।

शुरूमा निकै तीव्र गतिमा फैलिएको संक्रमण एक महिनाकै अन्तरालमा ओरालो लागेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । पुसको अन्तिम सातादेखि शुरु भएको स्मार्ट लकडाउन माघ २५ गतेदेखि केही खुकुलो हुने गरी जिल्ला प्रशासनले नयाँ आदेश जारी गरेको छ ।

विद्यालय, होटल, जिमखाना, विवाह, व्रतबन्ध, भेला, गोष्ठी, यातायात सेवालगायत प्रशासनिक सेवामा स्मार्ट खालको लकडाउन गरिँदै आएको थियो । माघ २५ गते राति १२ बजेदेखि लागू हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो । आदेशअनुसार फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न पाइने भएको छ । जसमा १२ वर्षभन्दा माथिकाको नियमित र १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई आलोपालो हुने गरी विद्यालय सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । स्याङ्जामा अनलाइन कक्षामार्फत पढाइ हुँदै आएको थियो । अर्कोतर्फ पार्टी प्यालेसमा हुने कार्यक्रममा ५० जनाभन्दा बढी भेला हुन नपाइनेमा माघ २५ गतेदेखि १ सय जनासम्म भेला हुन पाइने भएको छ ।

खेलकुद, होटल रेस्टुरेन्ट र सवारीसाधनमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र सबै यात्रुले यात्रा गर्दा अनिवार्य प्रयोग गर्न प्रशासनले आदेश गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जारी गरेको आदेशमा स्वास्थ्य मापदण्ड अपनाउन र संक्रमणबाट बचाउनका साथै बच्नका निमित्त सबै जिल्लावासी सजग रहन आग्रह गरिएको छ । सेवा प्रदायक कार्यालय, सरकारी कार्यालयलगायतमा सेवा लिँदा खोपकार्ड भने अनिवार्य गरिएको छ ।

दैनिक १ सय देखि १ सय ५० सम्म संक्रमित देखिन थालेको स्याङ्जामा पछिल्लो समय दैनिक १५ देखि २५ जनासम्म मात्र संक्रमित देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताउनुभयो । जिल्लामा एक महिनाको अन्तरालमा १ हजार ६ सय २९ जना कोरोना संक्रमणबाट संक्रमित भएका छन् भने ५ जनाले कोभिडबाट ज्यान गुमाएका छन् । कोभिडबाट मात्रै भन्दा पनि अन्य सरुवा रोगबाट बच्न शर्माले जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।