सप्तरी घटनामा महिला आयोगको ध्यानाकर्षण

0
Shares

राजविराज ।

सप्तरीमा एक महिलामाथि पेट्रोल छर्केर आगो लगाएको घटनाप्रति राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण भएको छ । सोमबार आयोगकी अध्यक्ष कमला पराजुलीसहितका टोलीले मृतकको घरमै पुगेर परिवारका सदस्यहरुसँग जानकारी लिएका थिए ।

मृतकका पति रविनकुमार साहसँग जानकारी लिँदै आयोगकी अध्यक्ष पराजुलीले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गत शुक्रबार (माघ २१ गते) जिल्लाको बोदे बरसाइन नगरपालिका–१ धनगढीका २० वर्षीय परमेश्वर साहले आफ्नै भाउजू ३० वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घरमै रोटी पकाइरहेकी रामकुमारीमाथि पेट्रोल छर्केर आगो लगाएपछि जलेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको गत शनिबार मृत्यु भएको थियो ।

रामकुमारीको मृत्यु भएसँगै पति रविनकुमारले भाइ प्रमेश्वर विरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ भने घटनासँगै प्रमेश्वर फरार छन् । मृतक रामकुमारीका ८ वर्षीय छोरा जितेन्द्र र वर्षीया छोरी आरती छन् । आयोगको टोलीमा आयोगका सदस्य जया घिमिरे, सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, मानव अधिकारकर्मी रेणु कर्णलगायतको सहभागिता थियो ।