दुई वडा जोड्ने पुलको निर्माणकार्य सम्पन्न

0
Shares

लमजुङ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ र ८ जोड्ने झोलुंगे पुलको निर्माणकार्य सम्पन्न भएको छ । वडा नं. ३ खुदीमा रहेका अमर माध्यमिक विद्यालय र वडा नं. ८ आम्बोटे जोड्ने मस्र्याङ्दी नदीमा पुल बनेको हो ।

५३ लाख ५३ हजार ६ सय १० रुपियाँ ८७ पैसाको लागतमा निर्माण सम्पन्न भएको झोलुंगे पुल १ सय ५ मिटर लम्वाइ र साढे १ मिटर चौडा रहेको छ । झलुंगे पुल गाउँपालिकाको सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण भएको हो । पुल निर्माण उपभोक्त समितिका अध्यक्ष भीम घलेका अनुसार झोलुङ्गे पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ४५ लाख २४ हजार ८२ रुपियाँ ३६ पैसा, मस्र्याङ्दी गाउँपालिकाको ७ लाख १८ हजार ९ सय २८ रुपियाँ ५१ पैसा र १ लाख १० हजार ६ सय रुपियाँ बराबरको जनश्रमदान गरी कुल ५३ लाख ५३ हजार ६ सय १० रुपियाँ ८७ पैसाको लागतमा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

पुलको निर्माणकार्य २०७७ साल फागुन १४ गतेबाट शुरु भएको र ०७८ पुस २० गते सम्पन्न भएको अध्यक्ष घलेको कथन छ । पुल निमार्णका लागि अनुमानित लागत ५५ लाख ३० हजार १ सय १९ रुपियाँ रहेकोमा लागत अनुमानभन्दा कम खर्चमा पुल सम्पन्न भएको हो ।

उक्त पुलको मंगलबार एक कार्यक्रमका बीच मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्नुभएको थियो । पुल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले सार्वजनिक सडक, पुल सिँचाइ खानेपानी, शिक्षा स्वास्थ्य जस्ता सुविधा जनतालाई उपलब्ध गराउने दायित्व सरकारको भएको वताउनुभयो । दुई वडा जोड्ने पुल निर्माणपछि मस्र्याङ्दी ३ र ८ स्थानीयलाई अवात–जावतमा सहज भएको उहाँले बताउनुभयो ।