व्यापार घाटाले मुलुकको अर्थतन्त्र संकटतर्फ

0
Shares

काठमाडौं ।

अघिल्लो वर्ष सकारात्मक रहेको शोधनान्तर सूचकाङ्क चालु आर्थिक वर्षमा नकारात्मक अवस्थामा पुगेको छ । विप्रेशणमा आयमा आएको कमी, बढदो आयात, विदेशी मुद्राको तुलनामा नेपाली पैसा कमजोर हुनु, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सोधान्तर सूचकाङ्क नकारात्मक देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको पुस महिनमा १ खर्ब २४ अर्ब रुपियाँ शोधनान्तर बचत रहेकोमा चालु वर्षको सोही अवधिमा २ खर्ब ४१ अर्ब २३ करोड ऋणात्मक अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, अघिल्लो अर्थिक वर्षको पुसमा १ अर्ब ५ करोड अमेरिकी डलर शोधनान्तर बचतमा रहेकोमा चालु वर्षको सोही अवधिमा २ अर्ब २ करोडले ऋणात्मक रहेको छ ।

गत असार मसान्तसम्म १३ सय ९९ अर्ब ३ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा १६ दशमलव ७ प्रतिशतले कमी आई गत पुस मसान्तमा ११ सय ६५ अर्ब ८० करोड रुपियाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलरमा सञ्चिति रहेकोमा गत पुस मसान्तमा १५ दशमलव ९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोडमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ सय ४४ अर्ब ६३ करोड रहेकोमा गत पुस मसान्तमा १८ दशमलव ४ प्रतिशतले कमी आई १ हजार १५ अर्ब ५९ करोडमा झरेको छ ।

नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ सय ५४ अर्ब रुपियाँ रहेकोमा गत पुस मसान्तमा २ दशमलम ७ प्रतिशतले कमी आई १ सय ५० अर्ब २१ करोड रुपियाँ कायम भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको आयातका आधारमा विदेशी विनिमय सञ्चितिले ७ महिनाको वस्तु आयात र ६ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएकोमा १ खर्ब १८ अर्ब रुपियाँ बराबरको मात्र वस्तु निर्यात हुँदा ८ खर्ब ८० अर्ब व्यापार घाटा बेहोरिएको छ । पुस महिनामा विप्रेषण आप्रवाह ५ दशमलव ५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव १ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव २ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ७ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोड रुपियाँले घाटामा रहेकोमा समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५४ अर्ब घाटामा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा गत आर्थिक वर्षको पुस मसान्तमा कच्चा पेट्रोलियम पदार्थप्रति व्यारल अमेरिकी डलर ५५ दशमलव ५२ रहेको कच्चा पेट्रोलियमको मूल्य गत पुस मसान्तमा ५७ दशमलव ० प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८७ दशमलव १७ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपियाँ २ दशमलव ८७ प्रतिशतले अधिमूल्यन भएकोमा गत असार मसान्तको तुलनामा गत पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपियाँ शून्य दशमलव ९४ प्रतिशतले अधिमूल्यन भएको छ ।

गत असार मसान्तमा उक्त विनिमय दर ११९ दशमलब ४ रुपियाँ रहेकोमा गत पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर ११७ दशमलव ९२ रुपियाँ पुगेको छ । त्यस्तै, गत आर्थिक वर्षको पुसको तुलनामा चालु आर्थिक वर्षको पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१ दशमलव २२ प्रतिशत, १४ दशमलव ०७ प्रतिशत, ११ दशमलव ३७ प्रतिशत, १० दशमलव ४८ प्रतिशत र ९ दशमलव २२ प्रतिशतले बढेको छ ।

गत पुस महिनामा काठमाडौं उपत्यकामा ५ दशमलव २८ प्रतिशत, तराईमा ६ दशमलव १५ प्रतिशत, पहाडमा ५ दशमलव ३४ प्रतिशत र हिमालमा ५ दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत आर्थिक वर्षको पुसमा यी क्षेत्रमा क्रमशः ३ दशमलव ५५ प्रतिशत, २ दशमलव ८७ प्रतिशत, ४ दशमलव ७२ प्रतिशत र ३ दशमलव ३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
गत पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव १८ प्रतिशत रहेको थियो । गत पुस महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९ दशमलव १० प्रतिशत, ७ दशमलव ६७ प्रतिशत र ७ दशमलव १४ प्रतिशत रहेको छ ।

पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७ दशमलव ५१ प्रतिशत रहेको छ । गत पुसमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव ७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १ दशमलव ७२ प्रतिशतले बढेको थियो ।