फोनपे नेटवर्कमा प्रभु पे आबद्ध

0
Shares

काठमाडौं (नेस) ।

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरूबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ ।

अन्तरआबद्धता सम्बन्धी बुधबार एक कार्यक्रमकाबीच जानकारी दिइयो । यस सहकार्यसँगै अब प्रभु पे फोनपे नेटवर्कमा आवद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्य नेपालको डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भन्नुभयो–‘हामी पहिलादेखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौँ,पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि एक आपसमा अन्तरआवद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौं ।

यस्तै, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले भन्नुभयो–फोनपेसँगको यस सहकार्यका लागि सबैलाई धन्यवाद छ । हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।