मेरी स्टोपलाई जापानको सहयोग

0
Shares

काठमाडौं, (नेस) ।

जापानले कैलालीमा रहेको मेरी स्टोप सामुदायिक अस्पतालका लागि झण्डै एक करोड २० लाख रूपियाँ बराबरको स्वास्थ्य उपकरणहरू प्रदान गर्ने भएको छ । यसै विषयमा नेपालका लागि जापानका राजदूत किकुता युताका र मेरी स्टोप सामुदायिक सेवा केन्द्र नेपालका निर्देशक लालमणि जोशीले दूतावासमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार जापानले कैलालीको मेरी स्टोप केन्द्रमा इलेक्ट्रोकार्डियोग्राम, कार्डिक मनिटर, सी–आर्म मेसिन, अल्ट्रासोनोग्राफी मेसिन (युएसजी), इन्डोस्कोपी, एक्सरे, कम्प्युटेड रेडियोग्राफी प्रणाली, अप्रेसन थियटर टेबुल तथा लाइटहरू, जेनेरेटरलगायतका उपकरणहरू जडान गर्न सहयोग गर्नेछ ।

मेरी स्टोपले स्त्रीरोग, परिवार नियोजन, अर्थोपेडिकलगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । दूतावासले जापानको यो सहयोगले कैलालीका बासिन्दाका साथै अन्य नागरिकहरूको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।