स्वास्थ्य सतर्कता



स्वास्थ्य सतर्कतामा पर्याप्त ध्यान दिन नसकेकै कारण कोभिड– १९ ले विभिन्न स्वरुप ग्रहण गरी दुख दिनेगरेको सत्यसँग अब कोही अनभिज्ञ छैन । तरपनि सार्वजनिक व्यक्तित्वहरुबाटै स्वास्थ्य सतर्कतामा लापर्वाही देखाइएको र त्यसको अनुशरण आम नागरिकबाट भएको पाइन्छ । टेलिभिजनमा राजनीतिक नेता र कलाकारहरु पत्रकारसँग बोलिरहेका देखिन्छन्, तर उनीहरुको नाकमुख छोप्न मास्क हुँदैन । यस सम्बन्धमा छरछिमेकी मुलुकबाट पनि हामीले सिक्नु आवश्यक छ । छिमेकी भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको श्रद्धाञ्जली समारोहमा देखाइएको स्वास्थ्य सतर्कता साँच्चिकै अनुकरणीय थियो ।

लताको निधनको कारणमा कोभिड संक्रमण बताइएको थियो । कोभिडका कारण इन्द्रिय असफल भएको मृतकको श्रद्धाञ्जली सभामा भाग लिन जानेको संख्या कम भने थिएन । तर, सबैले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेका थिए । कसैले पनि मिडियासामु बोल्नका लागि मास्क खोलेका थिएनन् । नेताहरुले एक–आफसमा सद्भाव राखेर नै श्रद्धाञ्जली दिए । जस्तोसुकै सभा–सम्मेलन, अधिवेशन, निर्वाचन भएपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आम नागरिकको रक्षाको जिम्मेवारी लिन सकिन्छ भन्ने प्रमाण बन्यो श्रद्धाञ्जली समारोह । त्यसो त लताको सम्पूर्ण जीवन र व्यवहार नै संसारका लागि उदाहरणीय छ । नेपालीलगायत ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी उनी पूर्वीय दर्शनकी आदर्श नारी हुन् । विश्वव्यापी रुपमा कोभिड महामारी फैलिएदेखि घरभित्रै बसेर भर्चुअल माध्यमका कार्यक्रमबाहेक सार्वजनिक कार्यक्रममा नगई घरमै बसेकी लता जनवरी महिनामा कोभिडबाट संक्रमित भै ब्रीच कैंडी हस्पिटल, मुम्बईमा भर्ना भएकी थिइन् । उनको यही फेब्रुअरी ६ मा ९२ वर्षको उमेरमा सघन उपचार कक्षमा उपचारकै क्रममा निधन भयो । लताको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको भावना मात्र प्रकट गरेनन् स्वास्थ्य सुरक्षा अपनाएर राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्न गए । उनको निधनको खबर बाहिरिएसँगै मुम्बईमा विभिन्न पार्टीका नेता, कलाकार सर्वसाधारणले श्रद्धाजलीका लागि उत्रिए । तर कसैले पनि स्वास्थ्य मापदण्ड तोडेनन् । श्रद्धाञ्जली सभामा प्रधानमन्त्री मोदीदेखि अन्य मन्त्री, नेता, कलाकार सबैका आँखा रसाएका थिए । कसैमा राजनीतिक भाव थिएन र केबल श्रद्धा भाव थियो । श्रद्धाञ्जली सभामा क्रमबद्ध भएर पालैपालो पुष्पगुच्छा चढाउने र शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गर्नेको ओइरो नै लागेको थियो । तर सबै व्यवस्थित र मर्यादित थिए । सञ्चार जगत्ले पनि लताको श्रद्धाञ्जली सभामा कुनै नेतालाई राजनीतिक अभिव्यक्तिका लागि प्रोत्साहित गरेको देखिन्नथ्यो ।

नेपालमा भारतको प्रभाव तत्काल पर्नेगर्छ । खासगरी त्यहाँका गलत अभ्यासलाई हामीले टपक्क टिप्नेगछौं । हाम्रा नेता, कार्यकर्ता, सर्वसाधारण उताको संस्कृति दोहोर्याइरहेका हुन्छन् । इतिहासदेखि हेर्दैआउने हो भने भारतमा राजतन्त्र कायम रहिरहेको भए नेपालमा गणतन्त्र आउन प्रायः असम्भव नै हुन्थ्यो, त्यहाँ अंग्रेजको उपनिवेश रहिरहेको भए राणा शासन उखलेर फाल्न गाह्रो थियो । यस्ता प्रभावलाई हेर्दा स्वास्थ्य चेतनामा पनि सकारात्मक प्रभाव पर्नुपर्ने हो । स्वास्थ्य सतर्कताका साथ भेला गर्नथालियो भने पनि गायिका लताप्रतिको सम्मान नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्