पोखरामा ठगीको नयाँ स्वरूप

0
Shares

पोखरा ।

व्यस्त शहर पोखरा, जहाँ दैनिक यात्रुको प्रतीक्षामा रहन्छन् ट्याक्सी ड्राइभर । कति बेला यात्रु आउँछन् अनि कमाउँला भन्ने उनीहरूको सोच हुन्छ । सधैंझैं यात्रु बोकिरहने ट्याक्सी ड्राइभर यति बेला ठगिन पुगेका छन् । झट्ट हेर्दा भीआईपीजस्तो सुटबुट लगाएर ट्याक्सी समात्ने अनि लेकसाइड जाने । लेकसाइडमा पुगेपछि राम्रो होटलमा समेत बस्ने, ड्राइभरको नम्बर राख्ने । दोस्रो दिन पनि जुन होटलमा छाडेको हो त्यही होटलमा बोलाउने विभिन्न ठाउँ घुम्ने गर्दछन् ।

आफूलाई ठूलो व्यक्ति भनी परिचित गर्दै यूएनमा ड्राइभरको जागिर मिलाइदिने विश्वास दिलाउँछन् । त्यति मात्र होइन उनीहरूले नागरिकताको फोटोकपी, फोटोलगायतका कागजातसमेत माग्छन् । ठूल्ठूला व्यक्तिसँग बोलेपछि कसो विश्वास नहोला र ? अनि जागिरका लागि भनसुन गर्नपर्ने र रकम दिनुपर्ने प्रस्ताव राख्छन् । यो योजनाले पोखरामा ठगिन पुगेका दुई जना ड्राइभर प्रहरीकोमा आएका छन् ।

प्रहरीले अहिले ती व्यक्तिको खोजी कार्य गरिरहेको छ । प्रहरी स्रोतका अनुसार प्रलोभनमा पारी ३ लाख ठगिएका १ चालकसहित अन्य व्यक्ति सम्पर्कमा आएका छन् । प्रहरी स्रोतले पहिला आफ्नो पहुँच ठूलो व्यक्तिसँग भएको देखाउने अनि जागिरका लागि रकम र कागजपत्र माग्ने र रकम मिलेपछि सम्पर्कविहीन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ ।

अपरिचित व्यक्तिले चालकले दिएको फोटो र नागरिकता तथा लाइसेन्सको फोटोकपीबाट नयाँ सिम निकाल्ने र फेरि अर्का चालकलाई फसाउने गरेको उनले बताए । त्यसरी नै पोखरामा धेरै चालक फसेको स्रोतको दाबी छ । यूएनमा चालक बन्ने सोच राखेर एक चालकले ३ लाख रुपियाँ फसाएको प्रमाणित भएको छ । उनीसँगै अन्य २ चालक पनि ठगिएको भन्दै कास्की प्रहरीमा उजुरी गर्न गएका छन् । यसभन्दा अघि मकवानपुर, चितवनलगायतका जिल्लामा पनि यात्रीले ठगेको प्रहरी स्रोतको दाबी छ । पछिल्लो समयमा यात्रीलाई कास्की र कास्कीको आसपासमा देखिएको स्रोतको दाबी छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले बताउनुभयो । यस विषयमा प्रहरीले पोखराका सम्पूर्ण ट्याक्सी चालकलाई जानकारी तथा सचेतसमेत गराएको छ । ट्याक्सी समितिलाई फोटोसमेत पठाएर पक्राउ गर्न सहयोग पुर्याउन अनुरोध गरेको छ ।