शून्य कार्बन उत्सर्जनमा धुलिखेलको प्रतिबद्धता नगरपालिकाले के-के गर्याे ? 


मोतीराम तिमल्सिना, काभ्रे । 

विश्वका १५ सहर मध्ये धुलिखेलले नेपालमै पहिलो पटक शून्य कार्बन उत्सर्जनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु देशभरका नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन् । धुलिखेल नगरपालिकालाई नेपालकै एक मात्र शून्य कार्बन उत्सर्जन गर्ने सहरका रूपमा विकास गर्न चुनौतीसँग अवसर रहेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।

‘यो अभियान चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण रहने छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘फोहोर पानी प्रशोधन भएको सहरका रूपमा धुलिखेल नेपालकै पहिलो रहेको छ ।’ धुलिखेल उत्पादित फोहोर पानीको ७१ प्रतिशत प्रशोधन गरिरहेको छ । सबै घरमा शौचालय निर्माण गरी खुल्ला दिशा मुक्त घोषणा गर्दै धुलिखेलले दिशाबाट मल र ग्याँस उत्पादन सुरु गरेको छ । ६ सय घर धुरीमा दाउरा विस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गरेको छ । गरिबिको रेखामुनि रहेको घर परिवारलाई बिजुली जडानमा सहयोग उपलब्ध गराएको छ ।

४ करोड भन्दा धेरै खर्च गरेर सोलार बत्ति जडान गरेको छ । ४ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको छ । सहरमा वातावरण सन्तुलन कायम गर्ने गरी १ लाख बिरुवाको वृक्षारोपण सुरु गरिएको छ । जसमा ग्रिन सिटीसँगै आयआर्जन सँग जोडिएको छ । ३८ वटा सामुदायिक वनलाई इको टुरिजमका रूपमा विकास गरिएको छ ।

इलेक्ट्रिकबाट चल्ने बसका लागि चार्जिङ्ग सेन्टर स्थापना गरिएको छ । औद्योगिक ग्राममा स्थापना हुने ७ वटा उद्योगलाई ग्रिन इनर्जीबाट संचालन गर्ने गरी सम्झौता गरिएको छ । उद्योग व्यवसाय तथा अन्य क्षेत्रलाई वातावरण मैत्री बनाउँदै ग्रिन इनर्जी प्रयोग र उत्पादन गर्ने होटल तथा व्यवसायलाई करमा १० प्रतिशत छुट गरिएको छ ।

साक्षर नगर, खुल्ला दिशामुक्त, शुद्ध खानेपानी, स्वस्थ सहर, कृषि र पशुपालन तथा वातावरणका क्षेत्रमा शतप्रतिशत बनाउने अभियान सुरु भएको छ । खानेपानीको एक सय वर्षको अध्ययन गरिएको छ । वातावरणीय प्रभावका कारण खानेपानी तथा कृषिमा परेको असरको अध्ययन गरिएको छ । नगर प्रमुख ब्याञ्जुले समझदारी पत्रले थप सहयोग र समन्वय भएको बताउँदै तीन नगरपालिका धुलिखेल, पनौती, बनेपा र काठमाडौँ विश्वविद्यालयले रोशी जलाधार संरक्षण क्षेत्रमा काम गर्नु पर्ने बताउनुभयो ।