वैदेशिक रोजगारका फरक फरक पीडा


मोतीराम तिमल्सिना, काभ्रे । 

वैदेशिक रोजगारका पीडा र रोजगारबाट फर्किए पछिको पारिवारिक व्यवस्थापनमा सुरक्षित आप्रवासन परियोजना अथात् सामीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार जान तयारी भई पैसा बुझाएर ठगिएका, रोजगारमा जान सिप सिकेका र वैदेशिक रोजगारकै कारण मानसिक समस्यामा परेका तथा वैदेशिक रोजगारबाट आम्दानी भएको पैसाको सदुपयोग गरी जीवन सहज बनाएका व्यक्तिहरूले धुलिखेलमा खुलेर पीडा पोखेका छन् ।

मण्डन देउपुर नगरपालिका वडा नम्बर ४ घर भएकी २९ बर्षिया विन्दा विकले वैदेशिक रोजगारमा गएका श्रीमानलाई बिताउन पुग्नु भयो । २ वर्ष १० महिना मलेसियामा काम गरेर केही महिनामै नेपाल फर्कने तयारीमा रहनु भएका श्रीमान् विदेशमै विते पछि विन्दाको बाँच्ने आधार गुम्यो । सासू ससुराको एक्लो सन्तान थिए उहाँका श्रीमान् । विन्दाबाट जन्मेका सन्तानको भन्दा पनि उहाँलाई वृद्ध भएका सासू ससुराको चिन्ताले सताउन थाल्यो । आफू बाँच्नु पर्छ भन्दा पनि उहाँहरूलाई कसरी बचाउने भन्ने चिन्ताले विन्दालाई जीवनबाट हार खान बाध्य बनायो । बाँच्ने रहर सकिएकी विन्दालाई सामी परियोजनाका मनोविमर्शकर्ताले फेला पारे । त्यसपछि भने विन्दालाई श्रीमान् मरेर गए पनि बाँचेकाहरूले उहाँको सपना पुरा गर्नु पर्छ भन्ने साहस बढायो । अहिले विन्दा बाँचेर परिवारका लागि केही गर्ने योजना छ ।
सिन्धुपाल्चोक जिल्ला घर भएका निकेश सुन्दासले वैदेशिक रोजगारीमा जान पनौती ५ काभ्रे गैरी गाउँ घर भएका अदिपबहादुर खड्कालाई बुझाएको रकम फिर्ता पाएका छैनन् । दुबई जान २ लाख ५० हजार बुझाएका सुन्दास जस्तै सिन्धुपाल्चोककै मेलम्ची घर भई काठमाडौँको थलीमा बसोबास गर्ने सुकुरानी तामाङ र उनका देवर लक्ष्मण तामाङले ८ लाख रकम बुझाए । लक्ष्मण विदेश त गए तर सम्झौता अनुसारको काम नपाए पछि आफन्त मार्फत अर्को काममा लागेका छन् । सुकुरानी, निकेश जस्ता दर्जनौ युवाहरूसँग लिएको रकम खड्काले फिर्ता गरेका छैनन् । प्रहरी, वैदेशिक रोजगार, जिल्ला प्रशासनमा उजुरी गर्दा पनि रकम फिर्ता हुन नसकेको निकेश र सुकुरानीले बताउनुभयो ।
धुलिखेल १ देविटार घर भएका सुकुमान तामाङले छोरा निमा तामाङ सहित मानबहादुर तामाङ र प्रकाश तामाङको समेत गरी प्रति ब्यक्ति पोल्यान्ड जाने भन्दै ४-४ लाख रकम काठमाडौँमा रहेको भिक्टोरिया ओभरिजका चिनादासलाई बुझाउनु भयो । भारत लगेर एक महिना राखे पछि मिलेन भन्दै फर्काएका चिनादासले न पोल्यान्ड पठाए न रकम फिर्ता पाए । उजुरी लिएर वैदेशिक रोजगारीमा जान लाग्दा कार्यान्वयन नभएको उहाँले बताउनु भयो । वैदेशिक रोजगारीमा जान रकम बुझाएर अलपत्र पर्नेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
धुलिखेल १ देविटारकै २९ बर्षिया ठुलीमाया तामाङ गार्मेन्ट तालिम लिएर वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ । सामी परियोजनाले उपलब्ध गराएको तालिमले नेपालमा काम गरे पनि धेरै रकम बचत गर्न नसकेकाले ओमन जाने तयारीमा रहेको बताउनु भयो । विदेश जाँदा केही सिकेर गएको अवस्थामा सहज हुने बुझेर सामी परियोजना मार्फत उपलब्ध गराइएको तालिम लिएको उहाँले बताउनु भयो । श्रीमान् मानसिक बिरामी भएकाले उहाँको उपचार, परिवारको रेखदेखका लागि उहाँ ओमन जाने तयारीमा हुनुहुन्छ । ४ वर्षीय बच्चा आफन्तलाई छाडेर उहाँ रोजगारमा जान लाग्नु भएको हो । उहाँले सिप सिकेर जाँदा सहज हुने भएकाले तालिम लिएको बताउनु भयो ।
धुलिखेल ११ की भगिरथी न्यौपानेले बिझेको काँडो निकाले जस्तो सहज भएको बताउनु भयो । दुखले कमाएको रकमको सदुपयोग गर्न वित्तीय साक्षरता कक्षा प्राप्त गरेकाले धेरै सहज भएको उहाँको अनुभव छ । सामी परियोजनाले वित्तीय साक्षरता कक्षा सञ्चालन गरी वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरूलाई बचत तथा उद्यमशीलता र आयआर्जनमा रकम खर्च गर्ने गरी तालिम दिएको छ । धुलिखेल ९ की रेखा हुमागाईँले श्रीमानले वैदेशिक रोजगारीबाट पठाएको पैसाको हिसाब किताब राखेर खर्च गर्दा खर्च गर्नु नपर्ने स्थानमा खर्च भइरहेको रकम रोकिएको बताउनु भयो । ‘धेरै सहज र व्यवस्थित भयो, वैदेशिक रोजगारको पैसाले परिवार व्यवस्थित बनाउन र खर्चको मितब्यीयता बनाउन सहज बनायो’–उहाँले भन्नुभयो ।
रोशी १ की बसुमाया तामाङले अपाङ्ग छोरीको रेखदेखमा सामी परियोजनाको सहजीकरणले सहज भएको बताउनु भयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले वैदेशिक रोजगारमा जानेहरूको समस्या अनगिन्ती भएको बताउनु भयो । स्थानीय सरकार र सामी परियोजनाको समन्वय र सहजीकरण मा केही काम भएको भए पनि अधिकांशका समस्या समाधान हुन नसकेको बताउनु भयो ।
जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराईले वैदेशिक रोजगार क्रियाशील हुनु पर्ने बताउनु भयो । रोजगारमा जान चाहनेहरूले पनि प्रमाण तथा भरपर्दो संस्थामा मात्रै कारोबार गर्नु पर्ने बताउनु भयो । प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले जिल्लामा भएका समस्या समाधानका लागि प्रहरीकोमा आउन अनुरोध गर्नु भयो । परियोजना संयोजक वसन्त कुँवरले जिल्लामा वैदेशिक रोजगारीका समस्या समाधानमा सामी परियोजनाले रोशी, भुम्लु, मण्डन देउपुर र धुलिखेल नगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।