गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल


न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा.भिष्मकुमार भूसालले जानकारी दिए ।

सहसचिव डा. भूसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालू तर्फको समेत बजेट एकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ । गृहमन्त्री खाँणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा.भूसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।

गहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् ।अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थमन्त्रालयलाई परेको चापबारे अबगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए ।

गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभइ नहुने विषयबस्तुबारे अबगत गराइने बताएका  थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाँणले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् ।