वैदेशिक रोजगारीले निम्त्याएका पीडा

0
Shares

काभ्रे ।

वैदेशिक रोजगारका पीडा र रोजगारबाट फर्किए पछिको पारिवारिक व्यवस्थापनमा सुरक्षित आप्रवासन परियोजना अर्थात् ‘सामी’ले मंगलबार धुलिखेलमा अन्तरक्रिया कार्यक्रममा गरेको छ ।

वैदेशिक रोजगार जान तयारी भई पैसा बुझाएर ठगिएका, रोजगारमा जान सीप सिकेका, वैदेशिक रोजगारकै कारण मानसिक समस्यामा परेका तथा वैदेशिक रोजगारबाट आम्दानी भएको पैसा सदुपयोग गरी जीवन सहज बनाएकाहरूसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा उनीहरूले खुलेर पीडा पोखेका थिए ।

मण्डन देउपुर नगरपालिका–४ घर भएकी २९ वर्षीया बिन्दा विकले वैदेशिक रोजगारमा गएका श्रीमान्लाई उतै गुमाउनुभयो । २ वर्ष १० महिना मलेसियामा काम गरेर केही महिनामै नेपाल फर्कने तयारीमा रहनुभएका श्रीमान् विदेशमै बितेपछि बिन्दाको बाँच्ने आधार गुम्यो । सासूससुराको एक्लो सन्तान थिए उनका श्रीमान् । विन्दाबाट जन्मेका सन्तानको भन्दा पनि उहाँलाई वृद्ध भएका सासूससुराको चिन्ताले सताउन थाल्यो । आफू बाँच्नुपर्छ भन्दा पनि उहाँहरुलाई कसरी बचाउने भन्ने चिन्ताले बिन्दालाई जीवनबाट हार खान बाध्य बनायो । बाँच्ने रहर सकिएकी विन्दालाई सामी परियोजनाका मनोविमर्शकर्ताले फेला पारे । त्यसपछि भने विन्दालाई श्रीमान् मरेर गए पनि बाँचेकाहरुले उहाँको सपना पूरा गर्नुपर्छ भन्ने साहस बढायो । अहिले विन्दाको बाँचेर परिवारका लागि केही गर्ने योजना छ ।

त्यस्तै, सिन्धुपाल्चोक जिल्ला घर भएका निकेश सुन्दासले वैदेशिक रोजगारीमा जान पनौती–५ काभ्रे गैरीगाउँ घर भएका अदीपबहादुर खड्कालाई बुझाएको रकम फिर्ता पाएका छैनन् । दुबई जान २ लाख ५० हजार बुझाएका सुन्दास जस्तै सिन्धुपाल्चोककै मेलम्ची घर भई काठमाडौको थलीमा बसोबास गर्ने सुकुरानी तामाङ र उनका देवर लक्ष्मण तामाङले ८ लाख रकम बुझाए । लक्ष्मण विदेश त गए तर सम्झौताअनुसारको काम नपाएपछि आफन्तमार्फत अर्को काममा लागेका छन् । सुकुरानी, निकेश जस्ता दर्जनौं युवाहरुसँग लिएको रकम खड्काले फिर्ता गरेका छैनन् । प्रहरी, वैदेशिक रोजगार, जिल्ला प्रशासनमा उजुरी गर्दा पनि रकम फिर्ता हुन नसकेको निकेश र सुकुरानीले बताउनुभयो ।

धुलिखेल–१ देवीटार घर भएका सुकुमान तामाङले छोरा निमा तामाङसहित मानबहादुर तामाङ र प्रकाश तामाङलाई पोल्यान्ड पठाउने भन्दै प्रतिव्यक्ति ४–४ लाख रकम काठमाडौंमा रहेको भिक्टोरिया ओभरिजका चिनादासलाई बुझाउनुभयो । भारत लगेर एक महिना राखेपछि मिलेन भन्दै फर्काएकालाई ओभरिजले न पोल्यान्ड पठायो न रकम फिर्ता पार्यो । उजुरी लिएर वैदेशिक रोजगारीमा जान लाग्दा कार्यान्वयन नभएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जान रकम बुझाएर अलपत्र पर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

धुलिखेल–१ देवीटारकै २९ वर्षीया ठूलीमाया तामाङ गार्मेन्ट तालिम लिएर वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ । सामी परियोजनाले उपलब्ध गराएको तालिमले नेपालमा काम गरे पनि धेरै रकम वचत गर्न नसकेकाले ओमान जाने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । विदेश जाँदा केही सिकेर गएको अवस्थामा सहज हुने बुझेर सामी परियोजनामार्फत उपलब्ध गराइएको तालिम लिएको तामाङले बताउनुभयो । श्रीमान् मानसिक बिरामी भएकाले उहाँको उपचार, परिवारको रेखदेखका लागि उहाँ ओमन जाने तयारीमा हुनुहुन्छ । ४ वर्षको बच्चा आफन्तलाई छाडेर उहाँ रोजगारमा जान लाग्नुभएको हो । उहाँले सीप सिकेर जाँदा सहज हुने भएकाले तालिम लिएको बताउनुभयो ।

त्यस्तै, धुलिखेल–११ की भगिरथी न्यौपानेले बिझेको काँडो निकाले जस्तो सहज भएको बताउनुभयो । दुःखले कमाएको रकमको सदुपयोग गर्न वित्तीय साक्षरता कक्षा प्राप्त गरेकाले धेरै सहज भएको उहाँको अनुभव छ । सामी परियोजनाले वित्तीय साक्षरता कक्षा सञ्चालन गरी वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई वचत तथा उद्यमशीलता र आयआर्जनमा रकम खर्च गर्ने गरी तालिम दिएको छ । धुलिखेल–९ की रेखा हुमागार्इंले श्रीमान्ले वैदेशिक रोजगारीबाट पठाएको पैसाको हिसावकिताब राखेर खर्च गर्दा खर्च गर्नु नपर्ने स्थानमा खर्च भइरहेको रकम रोकिएको बताउनुभयो । ‘धेरै सहज र व्यवस्थित भयो, वैदेशिक रोजगारको पैसाले परिवार व्यवस्थित बनाउन र खर्चको मितव्ययीता बनाउन सहज बनायो ।’ –उहाँले भन्नुभयो ।

रोशी–१ की वसुमाया तामाङले अपांग छोरीको रेखदेखमा सामी परियोजनाको सहजीकरणले सहज भएको बताउनुभयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले वैदेशिक रोजगारमा जानेहरुको समस्या अनगिन्ती भएको बताउनुभयो । स्थानीय सरकार र सामी परियोजनाको समन्वय र सहजीकरणमा केही काम भएको भए पनि अधिकांशका समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्ला समन्वय अधिकारी भीमप्रसाद भट्टराईले वैदेशिक रोजगार जान चाहनेले प्रमाणित तथा भरपर्दो संस्थामा मात्रै कारोबार गर्नुपर्ने बताउनुभयो । प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले जिल्लामा भएका समस्या समाधानका लागि प्रहरीकोमा आउन अनुरोध गर्नुभयो । परियोजना संयोजक वसन्त कुँवरले जिल्लामा वैदेशिक रोजगारीका समस्या समाधानमा सामी परियोजनाले रोशी, भुम्लु, मण्डन देउपुर र धुलिखेल नगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।