कमलामाईका ६ सामुदायिक विद्यालयलाई बस

0
Shares

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिकाका ६ वटा सामुदायिक विद्यालयले स्कुल बस सञ्चालन गर्ने भएका छन् । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ६ वटा स्कुल बस पठाएसँगै नगरका विद्यालयले बस पाएका हुन् ।

कमलामाई नगरपालिका–४ ढुंग्रेवासमा रहेको कमला मावि, वडा न. ५ सिलामेमा रहेको कमला जनज्योति मावि र जनज्योति मावि फोस्रटार, वडा नं. ६ मा रहेको गौमती मावि, वडा नं. ७ मा रहेका कालिमा मावि पल्लोरामपुर र गडौली माविले स्कुल बस सञ्चालन गर्ने भएका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पठाएको स्कुल बस मंगलवार एक कार्यक्रमका बीच कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले विद्यालयहरुलाई हस्तान्तरण गर्नुभएको थियो । नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई ठूला विद्यालयमा गाभेकाले (मर्ज) सामाजिक विकास मन्त्रालयले स्कुल बसको व्यवस्था गरिदएको कमलामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरराज लुइँटेलले बताउनुभयो ।

‘नगरपालिकाले यो पाँच वर्षमा धेरै विद्यालयलाई मर्ज गरेको छ । मर्ज गरिएको ठाउँको विद्यालयलाई मन्त्रालयले २५ लाख बराबरको रकम पठाउने भनेको थियो । तर, विद्यालयहरुको माग पैसाभन्दा पनि बस भएकाले मन्त्रालयले स्कुल बस पठाएको हो ।’ –उहाँले भन्नुभयो । स्कुल बस पाएका विद्यालयहरुले अब बसबाट आफ्ना विद्यार्थीलाई स्कुल ल्याउने र घर पुर्याउने गर्नेछन् ।

मर्ज भएका नगरपालिकाको अरु दुई विद्यालयमा आईसीटी ल्याब र डिजिटल लाइब्रेरीका लागि बजेट पाएका छन् । कमलामाई नगरपालिका–२ मा रहेको जनजागृति मावि निबुवाटारले डिजिटल लाइब्रेरीका लागि २५ लाख र कमलामाई नगरपालिका–९ मा रहेको जनजागृति मावि भिमानले आईसीटी ल्याबका लागि २५ लाख मन्त्रालयले बजेट पठाएको शाखा प्रमुख लुइटेलले बताउनुभयो ।

नगरपालिकाको शिक्षाको सुधारका लागि पहिलो चरणमै नगरक्षेत्रका १ सय ७ विद्यालयमध्ये मर्ज गर्नुपर्ने २३ विद्यालयलाई मर्ज गरेर ८४ विद्यालयमा झारिएको मेयर खत्रीले बताउनुभयो ।