प्राविधिक शिक्षा सबै स्थानीय तहमा पुर्‍याउँछौं : शिक्षामन्त्री पौडेल

0
Shares

कास्की ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा जोड्नुपर्छ’, मन्त्री पौडेल भन्नुहुन्छ– ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढाइसकेको छ ।’ अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन पनि आवश्यक बजेटका लागि पहल गर्ने उहाँको भनाइ छ ।

‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, मन्त्री पौडेलले भन्नुभयो– ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’ तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै उहाँले यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै मन्त्री पौडेल भन्नुहुन्छ– ‘४ देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुन्छ ।’ ‘पढ्दै कमाउँदै’ कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसमा समावेश गर्न लागिएको उहाँको कथन छ ।

२०७६ साल असोज ७ गते आंगिक क्याम्पसका रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपियाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकको भनाइ छ । अहिले बहुप्राविधिक शिक्षालय भाडाको घरमा सञ्चालन भइरहेको छ ।