बल प्रयोग गरेर खुलाइयो सडक

0
Shares

हेटौंडा, (नेस) ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा बसको ठक्करबाट सोमबार हेटौंडा–१ चाइनाक्वार्टर बस्ने करिब ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्युको विषयलाई लिएर अवरुद्ध गरिएको सडक प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

मृतकका आफन्त र चाइनाक्वार्टरका स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि सडक अवरुद्ध गरेका थिए । पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा घिमिरेको मृत्यु भएको थियो । सोमबार दिउँसो वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ग१ख ६१७० नम्बर बसले विपरीत दिशातर्फ जाँदै गरेको वागमती प्रदेश०३–००२प ९३६२ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक घिमिरेको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घिमिरेको मृत्युपछि ठक्कर दिने बस सञ्चालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमा नआएको, दोषीलाई कारबाही नभएको र उचित क्षतिपूर्ति नदिएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले सडक खुलाउन प्रयास गरे पनि महिला तथा बालबालिकासमेत सडकमा नाराबाजी गर्दै उत्रिएपछि सडक अवरुद्ध बनेको थियो । स्थानीय र प्रहरीबीच झडपसमेत भयो ।

ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।