८४ प्रतिशत बालबालिकाले लगाए खोप

0
Shares

बाँके ।

बाँकेमा ८४ प्रतिशत बालबालिकालाई मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार १२ देखि १७ वर्षका ८४.६ प्रतिशत बालबालिकालाई खोप लगाइएको हो ।

स्कुल–स्कुलमा गएर बालबालिकालाई खोप लगाइएको थियो । बाँकेमा १२ देखि १७ वर्षका ६९ हजार ८ सय ३७ बालबालिका रहेका छन् । त्यसमध्ये ५९ हजार ८६ जनालाई खोप लगाइएको छ । १० हजार ७ सय ५१ जना खोपबाट छुटेका छन् । खोप सुपरभाइजर श्रेष्ठले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिकामा खोपको कभरेज राम्रो रहेको बताउनुभयो । सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ४१ प्रतिशत रहेको छ । डुडुवामा ५८ र जानकीमा ६२ प्रतिशतले खोप लगाएका छन् ।

बाँकेमा कोरोनाविरुद्धको खोप लगाउने कार्य निरन्तर चलिरहेको छ । जिल्लाको कुल जनसंख्या ६ लाख १९ हजार ३ सय ३७ रहेको छ । १२ देखि १७ वर्षका ६९ हजार ८ सय ३७ र १८ वर्षमाथिका ४ लाख ६ हजार १ सय ६३ रहेका छन् । ३ लाख ५२ हजार ७ सय ४५ जनाले पहिलो मात्रा लगाएका छन् । २ लाख २७ हजार ३८ जनाले दोस्रो मात्रा लगाएका छन् । १३ हजार २ सय ९९ जनाले बुस्टर लगाएका छन् ।

जिल्लाको नरैनापुर गाउँपालिकामा खोपको कभेरज कम रहेको छ । डुडुवा, जानकी, बैजनाथ, राप्तीसोनारीमा सन्तोषजनक प्रगति देखिँदैन । स्वास्थ्य कार्यालयले खोप लगाउन छुटेका गाउँबस्तीको अध्ययन गरेर त्यही पुगेर खोप दिने रणनीति बनाएको छ । कोरोनाबाट बच्ने भनेकै खोप लगाउनु भएकाले सरकारले खोपलाई प्राथमिकतामा दिएर अभियानहरु सञ्चालन गरिरहेको छ ।

बाँकेमा पछिल्लो दिनमा संक्रमण दर घटिरहेको छ । ल्याबहरुमा जाँच गर्न आउनेको संख्या पनि घट्दो रहेको छ । सोमबार बाँकेका तीनवटा ल्याबमा १ सय १४ जनाको परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ४७ जनामा १७ जना, कोहलपुर मेडिकल कलेजमा २५ जनामा ५ जना र बागेश्वरी ल्याबमा ४२ जनामा १० जनालाई कोरोना पुष्टि भएको छ ।

बाँकेमा सक्रिय संक्रमितको संख्या ४ सय १० जना रहेको छ । यहाँको अस्पतालमा २८ जनाको उपचार भइरहेको छ । अरू होम आइसोलेसनमा रहेका छन् । सोमबार २४ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, भेरी अस्पतालमा उपचार गराइरहेकी बर्दियाकी ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । माघ २२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको २३ गते राति मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ४ सय ४३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।