सुदूरपश्चिममा १६ लाख बढीले लगाए खोप

0
Shares

बैतडी ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशका ९ वटै जिल्लामा गरेर हालसम्म १६ लाख ६ हजार ६ सय ७३ जनाले पहिलो मात्रा लगाएका हुन् भने ११ लाख ४ हजार ९ सय ४६ जनाले पूर्ण मात्रा लगाएका हुन् ।

प्रदेशको सबैभन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९ सय ७४ जनाले पहिलो मात्रा पाएका छन् भने ३ लाख ५५ हजार ७ सय २० जनाले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै, सबैभन्दा कम डडेल्धुराका ६५ हजार ६ सय ७ जनाले पहिलो र ५९ हजार ५ सय ५७ जनाले पूर्ण मात्रा लगाएका स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रदेशको कञ्चनपुर जिल्लामा ३ लाख ४२ हजार ६ सय ५१ जनाले पहिलो र २ लाख ४४ हजार २ सय ५१ जनाले पूर्ण मात्रा, बैतडीका १ लाख ५२ हजार ६ सय २९ जनाले पहिलो र ९४ हजार १ सय ८३ जनाले पूर्ण मात्रा, अछामका १ लाख ३७ हजार ४ सय ५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण मात्रा, बाजुरामा १ लाख २४ हजार ९ सय २५ जनाले पहिलो र ७४ हजार ३ सय ४५ जनाले पूर्ण, डोटीका १ लाख २० हजार ५ सय ७२ जनाले पहिलो र ६५ हजार ५ सय ७५ जनाले पूर्ण मात्रा, बझाङका ९९ हजार ८ सय ४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण मात्रा, दार्चुलाका ९० हजार १९ जनाले पहिलो र ६२ हजार २ सय ५६ जनाले पूर्ण मात्रा लगाएका जनाइएको छ ।

सुदूरपश्चिममा कोभिसिल्ड, एक्ट्राजेनिका, मोडर्ना, जोनसेन, भेरोसेल र फाइजर खोप दिइएको हो । १२ वर्षमाथिका व्यक्तिलाई खोप दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा हाल पनि खोप अभियान सञ्चालनमा रहेको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन अनुरोधसमेत गरिएको छ ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेका छ । भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । यस प्रदेशमा समेत माघ दोस्रो साता चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ ।

सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको छ । यसका साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी रहेकाले सबैलाई खोप लगाउन पनि आग्रह गरिएको छ ।