लमजुङमा जबरजस्ती करणीका घटना बढ्दो

0
Shares

लमजुङ ।

पछिल्लो वर्षमा लमजुङमा जबरजस्ती करणी जस्तो जघन्य अपराध बढ्दै गएको पाइएको छ । पछिल्लो ६ वर्षमा अन्य आपराधिक घटनाको तुलनामा जबरजस्ती करणीका घटना बढेको लमजुङ प्रहरीको तथ्यांकमा पाइएको हो ।

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै लमजुङमा १५ वटा जबरजस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालयमा दर्ता मुद्दाको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार चालू आर्थिक वर्षको साउनयता मात्रै १४ वटा मुद्दा जबरजस्ती करणीका रहेका छन् भने एउटा मुद्दा बाल यौन दुव्र्यवहारसम्बन्धी छ ।

उहाँका अनुसार गत आर्थिक वर्षको अवधिमा मात्रै जिल्लामा १९ वटा जबरजस्ती करणीका घटना भएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् भने नौ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एक वर्षको अवधिमा जिल्लामा १६ वटा जबरजस्ती करणीका घटना भएको थियो । जिल्लामा सो आर्थिक वर्षमा मात्रै आठवटा जबरजस्ती करणीका घटना र आठवटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएको रेग्मीले बताउनुभयो ।

बढ्दो बेराजगार, छाडा संस्कृति, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौनको सकारात्मक शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको पाइएको छ । तर, यस वर्ष कोरोना संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनकै कारण पनि आपराधिक क्रियाकलाप बढेको हुन सक्ने अनुमान गरिएको छ ।

लमजुङ प्रहरीको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा जबरजस्ती करणी सात र उद्योगअन्तर्गत पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा पनि जबरजस्ती करणी सात र उद्योगअन्तर्गत पाँचवटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । यस्तै, आर्थिक वर्ष ०७२/७३ मा जबरजस्ती करणीमा सात र उद्योगअन्तर्गत चार मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७१/७२ मा जबरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढ्दै गएको पाइएको छ । जबरजस्ती करणी जघन्य अपराध हो । १६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै करणी भए पनि जबरजस्तीअन्तर्गत पर्ने कानुनमा उल्लेख छ । कतिपय घटनाहरु आपसी लेनदेन मिलेपछि स्थानीयस्तरमै लुकाउने वा मिल्ने गरेका पनि छन् । आर्थिक प्रलोभनमा बलात्कारको घटना प्रहरीसमक्ष उजुरी नगर्नेहरुको संख्या पनि समाजमा थुप्रै भेटिने गरेको छ ।

लमजुङ जिल्ला कारागारको तथ्यांकअनुसार जिल्लामा मुद्दाको प्रकृति हेर्दा अहिले सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका रहेको पाइएको छ ।