५० बिगाहा गाँजा र अफिममा प्रहरीको आगो

0
Shares

हेटौंडा ।

गाँजालाई वैधानिकता दिनुपर्ने प्रस्ताव संघीय संसद्मा दर्ता गर्ने मकवानपुरका जुन क्षेत्रका सांसद देशका स्वास्थ्यमन्त्री रहनुभएको छ सोही क्षेत्रमा प्रहरी गाँजा र अफिमविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर जिल्लाका विभिन्न स्थानमा हुने अवैध लागूऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम नै बनाएर आक्रामक बनेको हो । जसअन्तर्गत माघ २१ गतेदेखि २३ गतेसम्म लागूऔषध ब्युरो कोटेश्वर, वागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोली प्रहरी गाँजा र अफिम खेती हुने क्षेत्रमै पुगेको छ ।

प्रहरी निरीक्षक सुमन बानियाँको कमान्डमा ५० प्रहरी राक्सिराङ गाउँपालिकाअन्तर्गत वडाहरुमा तथा लागूऔषध ब्युरो कोटेश्वर, वागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ५० प्रहरीको संयुक्त टोली प्रहरी निरीक्षक कविर प्रधानको कमान्डमा कैलाश गाउँपालिकामा खटिएको थियो ।

उक्त टोलीहरुलाई ३० जना सशस्त्र प्रहरीले सघाएका थिए । टोली संयुक्तरूपमा अवैध लागूऔषध गाँजा तथा अफिम खेती फँडानीका लागि खटिएको थियो । राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत विभिन्न वडामा २९ बिगाहा १० कठ्ठाको अवैध लागूऔषध गाँजा, २१ बिगाहाको अफिम खेती फँडानी तथा २ सय किलो बराबरको काटेर सुकाइराखेको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा बेला–बेलामा भारतीय सवारीसाधन गाँजा तस्करीमा प्रयोग गर्ने गरिएको पाइएको छ । भारतमा गाँजाको प्रतिकिलो ४० हजारसम्म पर्ने गरेकाले कम्तीमा ३० किलो गाँजा अवैधरूपमा भारत निकासी गर्न सकियो भने दुईवटा त गाडी नै किन्न सकिने पैसा कमाइने स्रोत बताउँछ । त्यसैले स्थानीयलाई फकाएर भारतीयले जोखिम मोलेको देखिन्छ । भारतीयको लगानीमा गाँजा उत्पादन र प्रशोधनसम्म हुने गरेको देखिने गरेको प्रहरीको भनाइ छ ।

केही समयअघि हेटौंडानजिक चुरियामाई जंगलमा गाँजा तस्करलाई प्रहरीले हवाई फायर गरी पक्राउ गरेको थियो । डीएल३सीएक्यू ४१७२ नम्बर भारतीय कारमा सवार उनीहरु भाग्न खोजेका बेला प्रहरीले कारचालक भारत मोतिहारीका दिलीपकुमार सिंह र उज्ज्वलकुमार ठाकुरलाई करिब ३२ किलो गाँजासहित पक्राउ गरेको थियो ।

प्रहरीले बीआर०६बीजी ९५१२ नम्बर भारतीय कारमा लुकाएर ओसारपसार गरेको अवस्थामा २१ किलो गाँजासहित धनुषाका अशोककुमार यादव र मकवानपुर मनहरीका राजकुमार मोक्तानलाई पक्राउ गरेको थियो भने हेटौंडा–१९ नेवारपानीबाट भारतीय बीआर–०१सीएम–६२४६ नम्बर कारमा ८ केजी गाँजा लैजाँदै गर्दा कारचालक सर्लाहीको हरिपुर नगरपालिका–९ का रञ्जितकुमार गुप्ता र बालकृष्ण गुप्तालाई पक्राउ गरिएको थियो ।

गाँजा उत्पादनको ‘राजधानी’ का रूपमा देशमै चिनिएको मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकामा प्रहरीले विशेष अभियान चाल्दै आएको छ । ती स्थानमा गाँजा फँडानीका लागि प्रहरी प्रमुख नै पुग्ने गरेका छन् ।