नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

0
Shares

काठमाडौं (नेस) ।

कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो ।

तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रूपमा ननकोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो । कोभिड क्रिटिकल युनिट १५ श्ययाको छ ।

उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितको उपचार तथा कोभिडअघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङनजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ ।

नर्भिकले केही समय अघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपीडी सेवा’को समेत शुरूआत गरेको थियो । सो सेवासमेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहनेसमेत मिश्रले जानकारी दिए ।

उनका अनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झैं उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको झैं विश्वस्तरीय स्वास्थ्य सेवा लिनसक्ने उनको भनाइ छ ।