आर्थिक समृद्धिका लागि धर्मगुरुहरूको योगदान महत्वपूर्ण हुने



काठमाडौं ।

समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका धर्म गुरुहरूले शान्तिका लागि आर्थिक समृद्धिमा विशेष भूमिका खेल्नुपर्र्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सरकारी नारालाई व्यवहारमा उतार्न पनि धर्म गुरुहरूले महत्वपूर्ण योगदान दिनसक्ने धारणा अघि सारेका छन् ।

अन्तरधार्मिक सद्भाव सप्ताहको अवसर पारेर अन्तरधार्मिक राष्ट्रिय सञ्जालले आयोजना गरेको भच्र्युअल कार्यक्रममा सहभागी वक्ताहरूले अन्तरधार्मिक सद्भाव कायम गर्दै समाजलाई उत्पादनशीलतातर्फ अगाडि बढाउन धर्मगुरु तथा धर्म अनुयायीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । धर्मगुरुहरूले समाजमा हुने परम्परागत मान्यता र प्रचलनलाई कम गर्दै बाल विवाह, छाउपडी, छोरीलाई विद्यालय पठाउने अभियान, जातीय छुवाछुतलगायतका कुप्रथा तथा कुसंस्कृतिलाई हटाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

कार्यक्रममा भिक्षु डा. नरहाङ तामाङले सबै धर्मका धर्मगुरुहरूले आफ्ना अनुयायीहरूलाई स्वरोजगारतर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सामाजिक कुरीति हटाउँदै सामाजिक सद्भाव, भाइचारा, धार्मिक सहिष्णुताको प्रवद्र्धन गर्दै आइरहेका धर्मगुरु तथा अध्यामिक गुरुहरूले अब आर्थिक समृद्धिको बाटोतर्फ अघि बढ्न पनि आफ्ना अनुयायीहरूलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आध्यात्मिक गुरु डा. चिन्तामणि योगीले भन्नुभयो– ‘सबैजना धार्मिक बन्नुपर्छ । मन्दिर, मस्जिद, चर्च, गुम्बा बनाउनुपर्छ । तर, त्योभन्दा पहिला देशमा कलकारखाना खोल्नुपर्छ भन्नेतर्फ सबैले सोच्न जरुरी छ ।’ उहाँले प्रेम, सद्भाव र शान्ति धर्म अनुयायीहरूका लागि मात्र नभई सबैको लागि आवश्यक भएकाले धर्मको बारेमा सोच्नुभन्दा पहिला मानिस भएर सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि धर्मशास्त्रको कुनै कुरा समयसापेक्ष छैन भने सम्मानपूर्वक सुधार गर्ने हिम्मत धर्मगुरुहरूमा हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले धार्मिक संघसंस्थाले आफ्ना भक्त तथा अनुयायीहरूलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक उन्नतिले समाजमा व्याप्त अशान्ति हटाउन सहयोग गर्नुका साथै जातिय विभेद, छुवाछुत, धार्मिक कुरीतिको पनि अन्त्य गर्दै समाजलाई विकासको पथमा लैजाने धारणा राख्नुभयो ।

कार्यक्रममा अन्तरधार्मिक क्षेत्रमा लामो समयदेखि संलग्न डा. नरेन्द्र पाण्डे माओवादी द्वन्द्वताका पनि धार्मिक तथा सामाजिक सद्भाव जोगाउन अन्तरधार्मिक गुरुहरूले दिएको महत्वपूर्ण योगदानको स्मरण गर्नुभएको थियो । उहाँले नेपालमा अन्तरधार्मिक संघसंस्थाको प्रादुर्भाव र उनीहरू योगदानको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सन् २०१० मा संयुक्त राष्ट्रसंघले फेब्रुअरीको पहिलो साता अन्तरधार्मिक सद्भाव सप्ताह मनाउने घोषणा गरेयता नेपालमा पनि अन्तरधार्मिक संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी अन्तरधार्मिक सद्भाव सप्ताह मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्