भाडा नतिर्नेलाई कारबाही गर्ने मन्त्रीको चेतावनी

0
Shares

काठमाडौं ।

भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताउनुभएको छ । मंगलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद्मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।

समाज कल्याण परिषद् अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले अव्यवस्थित रूपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा जमिनलाई उपयोग गर्ने रणनीतिसमेत बनाएको बताउनुभयो । ‘तरकारी बजार, फनपार्क, होटललगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ्ग देखेँ’, उहाँले भन्नुभयो– ‘अब छिट्टै नतिजा देख्नु हुनेछ ।’

कतिपय संस्थाले लामो समयसम्म पनि भाडा नतिरेको बताउनु हँुदै मन्त्री रेग्मीले पैसा नतिर्ने अटेर गरी बस्ने, जग्गाको दुरूपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारबाही गरिनेसमेत बताउनुभयो । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उहाँको योजना छ । मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको टुकुचा, खसी बजार, फनपार्क हङकङ बजार, प्रदर्शनी स्थललगायतको निरीक्षण गर्नुभएको हो ।